वीरगंज । वीरगंज ४ बिर्तास्थित कृष्ण हस्पिटलमा बारा जिल्ला महागढीमाई नगरपालिका ८ का २० वर्षीय हरेन्द्र माझीको उपचारको क्रममा मृत्यु भएको छ । माझी तीन दिनदेखि अस्पतालमा उपचाररत थिए ।
मृतककी आमा अनीता देवीले छोराको उपचारमा चिकित्सकको लापरवाही भएको आरोप लगाएकी छन् । उनले भनिन्, “शुक्रबार बिहान नौ बजे हरेन्द्रले खाना खान इशारा गरेका थिए, तर एक्कासी उनको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । घटनाको सत्य तथ्य छानबीन हुनुपर्छ ।”
हरेन्द्र एक महिनादेखि क्षयरोगबाट पीडित थिए र सरकारी अस्पतालबाट औषधि सेवन गर्दै आएका थिए । अत्यधिक खोकी र स्वास्थ्य बिग्रँदा उनलाई थप उपचारको लागि वीरगंज ल्याइएको थियो । तर आमा अनीताले चिकित्सकले नजिकैको नारायणी अस्पतालमा रेफर नगरेको आरोप लगाएकी छन् ।
अस्पताल व्यवस्थापनले लापरवाहीको आरोप अस्वीकार गरेको छ । तर मृतकको परिवारले घटनाको न्यायपूर्ण छानबीन र उत्तरदायित्व सुनिश्चित गर्न माग गरेका छन् ।




