सर्लाही । सर्लाहीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । गौडैता र चन्द्रनगरमा भएका दुर्घटनामा एक युवक र एक वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गोडैता नगरपालिका ४ रहुवास्थित हुलाकी सडक खण्डमा गडहियाबाट बगदहतर्फ जाँदै गरेको म प्र ०३-००१ त ७९०५ नम्बरको उखु बोकेको ट्रयाक्टरका चालकको उखुले थिचेर मृत्यु भएको हो ।
ट्याक्टरलाई ब्रेक लगाउने क्रममा उखु ट्रलीबाट झर्दा चालक रौतहटको राजदेवी ननगरपालिका ६ मोहनपुर बस्ने ३० वर्षीय राजु पटेल गम्भीर घाइते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
पटेलको शव हाल पोस्टमार्टमका लागि मलंगवामै राखिएको छ । त्यसैगरी चन्द्रनगर गाउँपालिका २ बिर्ताटोलस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
शुक्रबार साँझ बिर्ताबाट बर्कुरवातर्फ जाँदै गरेको बीआर ३० एपी ३०३७ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री स्थानीय श्याम सुन्दर ठाकुरकी पत्नी ६५ वर्षीया शान्ती देवी ठाकुरको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनलाई अमृत हेल्थ केयर बयलबासमा सामान्य उपचार गरि थप उपचारको लागि वीरगन्ज लगिएको थियो । उपचारकै क्रममा उनको वीरगन्ज न्यूरो अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।




