सर्लाही । सर्लाहीमा जनता समाजवादी पार्टी (जसपा) नेपालका जिल्ला अध्यक्ष रञ्धिर यादवको कार दुर्घटनामा परेको छ । अध्यक्ष यादवका भाइ सुधिर यादवले चलाएको प्र २-०२-००१ च ०४२३ नम्बरको कार ट्याक्टरमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
प्रहरीका अनुसार दुर्घटनामा परेको बेला कारमा अध्यक्ष यादव भने सवार थिएनन् । दुर्घटनामा कार चालक सुधिर र उनकी आमा ५५ वर्षीया इन्द्रकुमारी यादव घाइते भएका इलाका प्रहरी कार्यालय ईश्वरपुरका इन्सपेक्टर मितेशकुमार सिंहले जानकारी दिए ।
‘ईश्वरपुर नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गबाट बयलबासतर्फ आउने क्रममा सखुबनीमा कार ट्याक्टरमा ठोक्किँएर दुर्घटना भएको हो,’ इन्सपेक्टर सिंहले भने, ‘घाइते दुवैलाई उपचारको लागि जनकपुर लगिएको छ ।’
तीव्र गतिको कार सडक छेउमा आफ्नै साइटमा रोकिराखेको ट्याक्टरमा ठोक्किँएको प्रत्यक्षदर्शीले बताएका छन् । दुर्घटनामा कार क्षतिग्रस्त भएको छ ।




