सर्लाही । आसन्न प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा सर्लाही क्षेत्र नम्बर ३ मा पनि उम्मेदवार र राजनीतिक दलहरू चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवारहरू आफ्ना एजेन्डा र नारासहित प्रचार प्रसारमा सक्रिय देखिए पनि मतदातामा भने खासै चुनावी उत्साह देखिँदैन ।
दलहरू कार्यकर्ता परिचालन र संगठन सुदृढीकरणमा व्यस्त छन् भने उम्मेदवारहरू घर दैलो तथा भेटघाटमा लागेका छन् । तर स्थानीय मतदाता भने आफ्नो दैनिकीमै सीमित देखिन्छन् । चिनी उद्योगका लागि उखु उत्पादनको प्रमुख क्षेत्र मानिने सर्लाही ३ मा अहिले अधिकांश किसान उखु काट्ने र मिलसम्म पुर्याउने चटारोमा छन् ।
यता उम्मेदवारहरू भने मतदातासम्म आफ्ना एजेन्डा पुर्याउने रणनीतिमा जुटेका छन् । सर्लाही ३ मा यस पटक ३३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । नेकपा एमालेबाट निवर्तमान सांसद हरि उप्रेती, नेपाली कांग्रेसबाट विनोद खनाल, जनता समाजवादी पार्टीबाट जयप्रकाश राय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट नरेन्द्र साह, जनमत पार्टीबाट सुनिलप्रसाद गुप्तासहितका उम्मेदवार मैदानमा छन् ।
कांग्रेस उम्मेदवार विनोद खनाल भने आफू विजयी हुनेमा ढुक्क छन् । सर्लाही ४ बाट पार्टी सभापति गगन थापा उम्मेदवार बनेकाले त्यसको सकारात्मक प्रभाव सर्लाही ३ मा पनि पर्ने उनको दाबी छ ।
यस्तै एमाले उम्मेदवार हरि उप्रेती भने आफू निर्वाचित भएदेखि किसान र स्थानीय विकासका लागि काम गरेको दाबी गर्छन् । उनका प्रमुख एजेन्डामा उखु भुक्तानी समस्या, कृषकका खेती सम्बन्धी समस्या समाधान र सहुलियतपूर्ण ऋण व्यवस्था छन् ।
रास्वपा उम्मेदवार नरेन्द्र साहले तराई–मधेसमा वर्षौंदेखि जटिल बनेको मिटर ब्याज समस्याको समाधानमा आफूले भूमिका खेलेको दाबी गर्दै बाँकी समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
उनले पटक पटक एमाले र माओवादीले जितेपनि अपेक्षित परिवर्तन नआएको भन्दै अब नयाँ विकल्पलाई मौका दिन मतदातासँग आग्रह गरिरहेका छन् । २०७९ को निर्वाचनमा माओवादी केन्द्रबाट उम्मेदवार बनेका नरेन्द्र साह यस पटक रास्वपाबाट चुनावी मैदानमा उत्रिएपछि प्रतिस्पर्धा थप रोचक बनेको छ ।
मधेसी समुदायमा रास्वपा प्रति बढ्दो आकर्षण, काठमाडौं महानगरका मेयर बालेन साहसँग तुलना गरिने राजनीतिक ‘सेन्टीमेन्ट’ र २०७४ मा साहले ल्याएको उल्लेखनीय मतले उनलाई बलियो दावेदारका रूपमा हेरिएको छ ।
यस क्षेत्रमा कुल १ लाख ३४ हजार ४ सय १६ मतदाता छन् । २०७९ को निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेतीले ३२ हजार ९ सय ३८ मत ल्याएर जित्दा माओवादी केन्द्रका नरेन्द्र साह ३२ हजार १ सय ६८ मतसहित दोस्रो भएका थिए ।
सर्लाही ३ अन्तर्गत हरिवन, बागमती, चक्रघट्टा, हरिपुर (वडा नं. १०), बरहथवा (५–१२ र १६–१८), कविलासी (३–६) तथा बसबरिया गाउँपालिका (४–६) पर्दछन् । यस क्षेत्रका ५१ वडामध्ये अघिल्लो स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादीले १५–१५, एमाले र जसपाले ९–९, एकीकृत समाजवादीले २ र बहुजन पार्टीले १ वडा जितेका थिए ।
२०७९ को समानुपातिकतर्फ माओवादी केन्द्रले १५ हजार ४ सय ७१, एमालेले १५ हजार ६, जसपाले १२ हजार ७९, कांग्रेसले ९ हजार ९ सय ७९, रास्वपाले ६ हजार ९ सय ६२, जनमत पार्टीले ६ हजार १ सय ३१ र एकीकृत समाजवादीले २ हजार ६ सय ५५ मत प्राप्त गरेका थिए ।




