बारा । जीतपुर सिमरा उपमहानगरपालिका करिब डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन अवस्थामा छ । पुस दोस्रो साता तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंको सरुवा भएपछि माघ पहिलो साता हीरालाल चौधरी यहाँ पदस्थापन भएका थिए ।
तर पदस्थापन भएको केही दिनमै चौधरीको सहसचिव बढुवा सम्बन्धी अन्तिम निर्णय भएपछि उनी पुन: संघीय सामान्य प्रशासन मन्त्रालय फर्किएका थिए ।
चौधरीले उपमहानगरमा चार दिन कार्यरत रहँदा कर्मचारीको तलब भत्ता र सामाजिक सुरक्षा भत्ता सम्बन्धी निर्णय गरेपनि अन्य प्रशासनिक तथा विकास सम्बन्धी कामहरू ठप्प छन् ।
उपमहानगरले चालु आर्थिक वर्षका लागि २ अर्ब १ लाख रुपैयाँ बजेट विनियोजन गरेको भएपनि हालसम्म वडास्तरीय विकासका काम सुरु हुन सकेका छैनन् ।
सामाजिक तथा आर्थिक विकास, पूर्वाधार र सामान्य प्रशासन गरी तीन महाशाखा र करिब एक दर्जन शाखा रहेको उपमहानगर प्रमुख प्रशासकीय अधिकृत नहुँदा निर्णय प्रक्रियामा गम्भीर असर परेको छ ।




