सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले आमाको नामबाट नागरिकता वितरण प्रक्रिया औपचारिक रूपमा सुरु गरेको छ । यसै क्रममा सोमबार लालबन्दी नगरपालिका ७ का राममनोहर गुप्तालाई जिल्लामै पहिलो पटक आमाको नामबाट अङ्गीकृत नेपाली नागरिकता प्रदान गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले हस्ताक्षर गरी गुप्तालाई नागरिकता प्रदान गरेका छन् । गुप्ताकी आमा रामकुमारी साह नेपाली नागरिक हुन् भने उनका पिता भारतको बिहार राज्य निवासी महेन्द्रप्रसाद गुप्ता रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
नेपाल नागरिकता ऐन, २०६३ को दोस्रो संशोधन तथा नागरिकता नियमावली, २०६३ को चौथो संशोधन अनुसार बुवा विदेशी र आमा नेपाली नागरिक भएको अवस्थामा आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गर्न सकिने कानुनी व्यवस्था छ ।
सोही कानुनी प्रावधानका आधारमा गुप्तालाई नागरिकता उपलब्ध गराइएको हो । प्रमुख जिल्ला अधिकारी कडरियाका अनुसार आवश्यक प्रक्रिया र कागजात पूरा भएमा अब अन्य सेवाग्राहीले पनि आमाको नामबाट नागरिकता लिन सक्नेछन् ।
“राममनोहर गुप्ताले जिल्लामै पहिलो पटक आमाको नामबाट नागरिकता माग गर्दै निवेदन दिएका थिए,” उनले भने, “वडा कार्यालय, स्थानीय प्रहरी लगायत सबै निकायबाट प्रक्रिया पूरा भएपछि नागरिकता प्रदान गरिएको हो ।”
हाल इलाका प्रशासन कार्यालय हरिवन र बरहथवाबाट नियमित नागरिकता वितरण हुँदै आएपनि अङ्गीकृत नागरिकतामा प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर अनिवार्य हुने कानुनी व्यवस्था छ । त्यसैले आमाको नामबाट अङ्गीकृत नागरिकता लिन चाहने व्यक्तिले जिल्ला प्रशासन कार्यालय मलङ्गवामै उपस्थित हुनुपर्ने कडरियाले स्पष्ट पारे ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले नागरिकता नियमावली अनुसार आमाको नामबाट नागरिकता प्राप्त गर्न अपनाउनु पर्ने सम्पूर्ण प्रक्रिया बारे जिल्लाका २० वटै स्थानीय तहलाई परिपत्र गरिसकेको जनाएको छ ।




