सिरहा । भारतको बिहारमा जागिरको प्रलोभन देखाएर नेपाली युवकलाई बन्धक बनाई रकम असुल्ने गिरोहका दुई सदस्यलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । कल्याणपुर नगरपालिका ७ भेडियाका २६ वर्षीय सुरज मुखिया र लहान नगरपालिका ११ पररिया चोकका २२ वर्षीय प्रशान्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
घटनाको विवरण अनुसार प्रतिवादीहरूले कल्याणपुर ७ का २८ वर्षीय रिशकेश कुमार मरिकलाई अनलाइनमार्फत सम्पर्क गरी भारतको गयास्थित एक कन्स्ट्रक्सन कम्पनीमा राम्रो काम लगाईदिने प्रलोभन देखाएका थिए ।
गत पुस २० गते मरिकलाई भारतको बोधगया पुर्याएर एउटा होस्टलमा बन्धक बनाइएको थियो । त्यहाँ उनको मोबाइल र शैक्षिक प्रमाणपत्र खोसेर कोठामा थुनी कुटपिट तथा मानसिक यातना दिइएको थियो ।
ज्यान मार्ने धम्की दिँदै उनीहरूले मरिकको परिवारबाट क्युआर कोड र बैंक खातामार्फत २ लाख १७ हजार २०० रुपैयाँ असुलेका थिए भने मरिकसँग रहेको नगद ३० हजार भारु समेत लुटेका थिए ।
बन्धक बनाइएको ठाउँबाट तालिमका नाममा आपराधिक क्रियाकलाप सिकाउन थालेपछि मरिक ज्यान जोगाएर नेपाल भाग्न सफल भएका थिए । उनले माघ १५ गते जिल्ला प्रहरी कार्यालय सिरहामा जाहेरी दिएपछि प्रहरीले खोज तलास तीव्र पारेको थियो ।
सोही क्रममा सुरज मुखियालाई माघ १६ गते कल्याणपुरबाट र प्रशान्त चौधरीलाई माघ १७ गते लहानबाट पक्राउ गरिएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए । पक्राउ परेका दुवैमाथि शरीर बन्धक सम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ ।




