सर्लाही । सर्लाहीको बलरा नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणको नयाँ प्रणालीले वृद्धवृद्धा, अपाङ्ग र अन्य सेवाग्राहीहरू गम्भीर समस्यामा पारेको छ । पहिले हरेक तीन महिनामा वडा कार्यालय मार्फत वितरण हुँदै आएको वृद्धा पेन्सन हाल केहि महिनादेखि एनआईसी एसिया बैंक मार्फत भुक्तानी गरिन थालेपछि सेवाग्राहीहरू लामो लाइनमा बस्न बाध्य भएका छन् ।
स्थानीयहरूले भने अनुसार हिड्न नसक्ने, बोल्न नसक्ने र अशक्त वृद्ध वृद्धाहरू समेत घण्टौं लाइनमा उभिन बाध्य छन् । सरकारले सामाजिक सुरक्षाका लागि दिएको रकम लिनु नै वृद्ध र अपाङ्ग नागरिकका लागि दुःखद अनुभव बन्न पुगेको उनीहरूको गुनासो छ । यस विषयमा नगर प्रमुखसँग ध्यानाकर्षण गर्दा पुनः वडा कार्यालयमार्फत भत्ता वितरण गर्ने प्रतिबद्धता जनाइएको भएपनि अहिलेसम्म सो व्यवस्था कार्यान्वयनमा आएको छैन ।
स्थानीयवासीका अनुसार एनआईसी एसिया बैंक, हथीयोल शाखामा दैनिक सेवा लिन उनीहरूले १ देखि ३ घण्टासम्म लाइनमा बस्नुपरेको छ । बैंकमा मात्र एउटा काउन्टर सञ्चालनमा रहेको, बस्न र पर्खन पर्याप्त कुर्सी टेबल नहुँदा वृद्धवृद्धा र अपाङ्गहरू थप असुविधामा छन् ।
प्रत्यक्षदर्शीका अनुसार बैंकका केही कर्मचारीहरूले सेवाग्राहीसँग दुव्र्यवहार गर्ने दृश्यसमेत देखिएको छ । वृद्धा पेन्सन, अपाङ्गता भत्ता र बालबालिकाको पोषण कार्यक्रमका लागि सरकारले उपलब्ध गराएको रकम लिन सेवाग्राहीहरूलाई बैंकसम्म धाउनुपर्ने अवस्था सामाजिक सुरक्षा कार्यक्रमको मर्ममाथि प्रश्न उठाएको स्थानीयहरूको गुनासो छ ।
उनीहरूले भत्ता वितरण पुनः वडा कार्यालयमार्फत गर्न, बैंकमा काउन्टर थप गर्न, बस्ने व्यवस्था मिलाउन र सेवाग्राही मैत्री व्यवहार सुनिश्चित गर्न तत्काल कदम चाल्न नगरपालिका समक्ष माग गरेका छन् । बैंकमा देखिएको अव्यवस्थाका फोटो तथा प्रमाण संकलन गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको पनि जनाइएको छ ।




