पर्सा । सरकारले आमा र नवजात शिशुको स्वास्थ्य सुरक्षाका लागि लागू गरेको आमा सुरक्षा कार्यक्रम पोखरियास्थित प्रादेशिक अस्पतालमा प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको गुनासो बढ्दै गएको छ ।
कार्यक्रम अन्तर्गत गर्भवती महिलालाई प्रसूति सेवा, औषधि, चेकजाँच तथा प्रोत्साहन भत्ता निःशुल्क उपलब्ध गराउनु पर्ने व्यवस्था भएपनि अस्पतालमा सेवा लिन आएका सुत्केरी महिलाहरूले औषधिको रकम आफैं तिर्नुपरेको र प्रसूति प्रोत्साहन भत्ता नपाएको बताएका छन् ।
अस्पतालमा भर्ना भएर सेवा लिएका सुत्केरी महिलाहरूका अनुसार श्रव्य (बेड) शुल्क नलिएपनि औषधि खर्च तिर्न बाध्य बनाइएको छ । साथै, सरकारले दिने एक हजार रुपैयाँ बराबरको प्रसूति प्रोत्साहन भत्ता समेत नपाएको उनीहरूको गुनासो छ ।
सरकारी व्यवस्था अनुसार आमा सुरक्षा कार्यक्रम अन्तर्गत सामान्य प्रसूतिको हकमा प्रति महिला २ हजार ५ सय रुपैयाँ, जटिल प्रसूतिको ४ हजार रुपैयाँ र शल्यक्रियामार्फत प्रसूति गराउनु परेमा १० हजार रुपैयाँ अस्पताललाई उपलब्ध गराइने व्यवस्था छ ।
अस्पतालको तथ्यांक अनुसार गत पुस महिनामा मात्रै ८५ जनाको सामान्य प्रसूति र ९ जनाको शल्यक्रिया गरिएको थियो । तर ती महिलाहरूले अस्पतालबाट औषधि सुविधा र प्रोत्साहन भत्ता नपाएको बताएका छन् ।
सुत्केरी महिलाहरूका अनुसार सामान्य प्रसूतिको हकमा १ हजार रुपैयाँभन्दा कम र शल्यक्रियाबाट प्रसूति गराउनेहरूलाई १० हजार रुपैयाँसम्मको औषधि खर्च आफ्नै खर्चमा गराइएको छ । जबकि सरकारले गर्भावस्थाको नियमित चेकजाँचदेखि प्रसूति सम्पन्न नहुन्जेलसम्मको सम्पूर्ण सेवा नि:शुल्क हुनुपर्ने व्यवस्था गरेको छ ।
अस्पतालले प्रोत्साहन भत्ता तुरुन्तै नदिई ४ महिनापछि लिन आउनुपर्ने भन्दै फर्काउने गरेको आरोप पनि सेवाग्राहीहरूको छ । अस्पताल स्रोतका अनुसार चार महिनापछि आउने सुत्केरी महिलामध्ये थोरैले मात्र सो भत्ता पाउने गरेका छन् ।
कागजात अभाव, जानकारी नहुनु वा समयमै नआउँदा धेरै महिला प्रोत्साहन भत्ताबाट वञ्चित हुने गरेको गुनासो छ । नियम अनुसार सुत्केरी महिलालाई डिस्चार्ज गर्ने बेलामै आवश्यक कागजातसहित प्रोत्साहन भत्ता उपलब्ध गराउनु पर्ने भएपनि व्यवहारमा त्यसो हुन नसकेको सेवाग्राहीहरू बताउँछन् ।




