वीरगञ्ज । जिल्ला सुरक्षा समिति पर्साले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनको लागि पर्सामा रहेका एक सय ६७ वटा मतदानस्थलमध्ये ६० मतदानस्थलको अनुगमन गरेको छ ।
पर्साका प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालय लगायतका टोली मतदानस्थल तथा केन्द्रहरुको निरीक्षण र सम्भावित सुरक्षा जोखिमको आवश्यक पूर्व तयारीमा जुटेको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले यहाँको १६७ मतदानस्थलमध्ये ६० को निरीक्षण गरिसकेको बताउँदै सो मतदानस्थलको लागि आवश्यक सुरक्षा रणनीति बनाउने काम भइरहेको जानकारी दिए ।
‘‘अहिले दैनिक रुपमा मतदानस्थलको निरीक्षण गरेर त्यहाँ देखिएको सुरक्षा चुनौतीको लागि थप रणनीति बनाउने काम भइरहेको छ,’’ उनले भने ।’’ प्रजिअ दाहालले जिल्लामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित ढङ्गले अघि बढाउनको लागि आवश्यक समन्वय गरिरहेको बताए ।
‘निर्वाचनलाई भयरहित र शान्तिपूर्ण सम्पन्न गर्नका लागि सबै निकायले आ–आफ्नो ठाउँबाट समन्वय र सहकार्य गरेर अघि बढ्नका लागि जरुरत रहेको छ,’ उनले भने,‘निर्वाचन आचारसंहिता उम्मेदवार, आम जनता र सञ्चारकर्मी लगायतले पनि पालना गर्नका लागि अनुरोध गर्दछौँ ।
जिल्लाको एक सय ७ किलोमिटर खुल्ला सीमा नाका भएकाले पनि निर्वाचनको बेला शान्ति सुरक्षा चुस्तदुरुस्त बनाउने प्रयास गरिरहेको दाहालले बताए । पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकले निर्वाचनको लागि आवश्यक शान्ति सुरक्षाको प्रबन्ध गरिएको बताए ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारले मतदाता शिक्षा सम्बन्धित प्रचार प्रसार मुलुक कार्यक्रम अघि बढाउन लागिएको बताए । उनले भने, ‘‘निर्वाचन आचारसंहिताले निर्वाचनमा उम्मेदवारले भारतीय नम्बर प्लेट नम्बरको सवारी साधन प्रयोग गर्न मिल्दैन । सोतर्फ उम्मेदवारहरुले सचेत हुन जरुरी छ ।’’
जिल्लाभरि रहेका १६७ मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । क्षेत्र नं १ मा ३४, क्षेत्र नं २ मा ३८, क्षेत्र नं ३ मा ४७ र क्षेत्र नं ४ मा ४८ मतदानस्थल छन् ।
पर्सामा एक सय ६७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, ८५ वटा संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ । यहाँ ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् । यहाँ चार निर्वाचन क्षेत्र रहेका छन् । जसमध्ये क्षेत्र नं १ मा १०३, क्षेत्र नं २ मा ११० तथा क्षेत्र नं ३ र ४ मा एक सय १४ निर्वाचन क्षेत्र छन् ।
पर्सामा कूल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छन् । तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।




