वीरगञ्ज । फागुन २१ मा पर्सा २ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी गतिविधि तीव्र बनिरहेको छ । यहाँका मतदाता बीच युवा उम्मेदवारहरूको उदयले पुराना राजनीतिक अनुभव भएका नेताहरूका लागि चुनौती थपेको देखिन्छ ।
यस क्षेत्रबाट २०७९ मा नेपाली कांग्रेसका अजय चौरसियाले २८ हजार ४५१ मतसहित प्रतिनिधिसभा सदस्य पदमा जित हासिल गरेका थिए । त्यतिबेला उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) का सुरेन्द्रप्रसाद कुर्मीले २२ हजार ४४५ मत पाएका थिए ।
चौरसिया यस पटक पनि कांग्रेसको तर्फबाट उम्मेदवार रहेका छन् । तर युवा पुस्ताका मतदाताहरू, विद्यार्थी र पेशाकर्मीहरूले पारदर्शी, जवाफदेही र फरक नेतृत्व खोजिरहेका छन् । यही कारण नयाँ र युवा उम्मेदवार प्रति मतदाताको चासो बढेको छ ।
उम्मेदवारहरूको परिचय
सुशील साह कानु (रास्वपा)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ३६ वर्षीय सुशील साह कानुलाई उम्मेदवार बनाएको छ । कानु २०७९ को स्थानीय तह निर्वाचनमा जसपाबाट वीरगञ्ज १० वडाध्यक्ष बनेका थिए । उनले वडाध्यक्ष पदबाट राजीनामा दिएर रास्वपाको टिकटमा उम्मेदवारी दिए । कानुको राजनीतिक यात्रा मधेशी जनअधिकार फोरमबाट सुरु भएको थियो ।
रिमा यादव (एमाले)
नेकपा एमालेले २९ वर्षीया रिमा यादवलाई उम्मेदवार बनाएको छ । उनी देशभरकै कान्छी उम्मेदवार हुन् । रिमालाई पार्टीले पारिवारिक पृष्ठभूमि र स्थानीय प्रभावको आधारमा टिकट दिएको बुझिएको छ । उनका ससुरा रामायण राउत अहिर एमालेका अनुभवी नेता हुन् ।
बीना जैसवाल कुर्मी (राप्रपा)
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की पूर्व समानुपातिक सांसद ४० वर्षमुनि युवती बीना जैसवाल कुर्मी यस पटक प्रत्यक्ष चुनाव मैदानमा छन् ।
अशोक टेमानी (जसपा)
जसपा तर्फ ४५ वर्षीय अशोक टेमानी पहिलो पटक संसदीय चुनावमा प्रतिष्पर्धी बनेका छन् । उनी नेपाल उद्योग वाणिज्य संघका प्रदेश अध्यक्ष पनि हुन् ।
सबैभन्दा अनुभवी उम्मेदवार कांग्रेसका अजय चौरसिया हुन् । विद्यार्थी राजनीतिबाट सक्रिय उनी २०५१ सालदेखि पर्सा कांग्रेसमा राजनीतिक जीवन सुरु गरेका थिए । २०५६ को प्रतिनिधिसभा निर्वाचनमा पहिलो पटक निर्वाचित भएपछि २०५८ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहायक मन्त्री बनेका थिए ।
पछिल्लो पटक उनी केपी शर्मा ओली नेतृत्वको सरकारले कानुन मन्त्रीको जिम्मेवारी सम्हालेका थिए । हालको चुनावी माहौलमा मतदाताको ध्यान युवा र नयाँ उम्मेदवारतर्फ बढी केन्द्रित देखिन्छ । फागुन २१ मा हुने निर्वाचन परिणामले नै यस क्षेत्रको राजनीतिक दिशालाई स्पष्ट गर्नेछ ।




