जनकपुरधाम । मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले चालू आवको ६ महिनामा मधेस प्रदेशमा ५६ वटा हत्याका घटना भएको जनाएको छ । सो कार्यालयले जनाए अनुसार चालू आव २०८२/८३ मा प्रदेशका ८ जिल्लामा ५६ जनाको हत्या भएको छ ।
हत्या भएकामा २६ जना पुरुष र १८ जना महिला रहेका छन् । यसैगरी, नौ जना बालक र तीन जना बालिका रहेको सो कार्यालयले जानकारी गराएको छ । मधेस प्रदेशका ८ जिल्लामध्ये सबैभन्दा बढी सप्तरी जिल्लामा हत्याका घटना भएका छन् ।
सप्तरीमा १३ जनाको हत्या भएकामा पाँच जना पुरुष, छ जना महिला तथा एक एक जना बालक र बालिका रहेका छन् । यसैगरी, धनुषामा चार जना महिला, दुई जना पुरुष, दुई जना बालक र एक जना बालिका गरी नौ जनाको हत्या भएको छ ।
यस्तै सिराहामा चार जना पुरुष, तीन जना महिला तथा एक एक जना बालक र बालिका गरेर नौ जनाकै हत्या भएको छ । रौतहटमा चार जना पुरुष, दुई जना महिला र दुई जना बालक गरेर आठ जनाको हत्या भएको छ ।
पर्सामा तीन जना पुरुष, दुई जना महिला र एक जना बालक गरी छ जनाको हत्या भएको छ । महोत्तरीमा तीन जना पुरुष र एक जना महिला गरी चार जना र सर्लाहीमा भने चार जना पुरुषको हत्या भएको मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरले जनाएको छ ।
यो ६ महिनाको अवधिमा सबैभन्दा कम बारामा तीन जनाको हत्या भएको छ । बारामा एक जना पुरुष र दुई जना बालकको हत्या भएको छ । प्रदेश प्रहरी कार्यालय, जनकपुरले यी हत्याका घटनाहरूमा पारिवारिक विवाद, आपसी इबी, सामाजिक सञ्जाल, लागूऔषध प्रयोग लगायत कारणहरू रहेको जनाएको छ ।
गत आव २०८१/८२ मा मधेस प्रदेशमा ९९ जनाको हत्या भएको थियो । जसमा ५३ जना पुरुष र ३६ जना महिला रहेका थिए । यस्तै, पाँच जना बालक र पाँच जना बालिका रहेको मधेस प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।






