धनगढी । बैतडीको पुर्चौंडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ जना पुगेको छ । डडेलधुरा अस्पतालमा उपचारका क्रममा थप पाँच जनाको मृत्यु भएपछि मृतकको संख्या १३ पुगेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले जानकारी दिए ।
बझाङको बित्थडचीर गाउँपालिका ७ का १७ वर्षीय बिसनदत्त जोशी, २८ वर्षीय दिपकराज जोशी, ४६ वर्षीय किसनदत्त जोशी, बझाङको केदारस्युँ गाउँपालिका ६ का २७ वर्षीय केशवराज भट्ट र बैतडीको पुर्चौंडी ७ का १४ वर्षीय सुशील जोशीको उपचारका क्रममा मृत्यु भएको हो ।
यसअघि ६ जनाको घटनास्थलमै र दुई जनाको कोटिला स्वास्थ्यचौकीमा मृत्यु भएको थियो । मृत्यु हुनेमा बझाङको बित्थडचीर गाउँपालिका ७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी, ४२ वर्षीय नरेशराज जोशी, बझाङको केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका ७ का ४० वर्षीय वसन्तराज रतला र बैतडीको पुर्चौंडी नगरपालिका ७ की ४० वर्षीय पुष्पा अवस्थी रहेका छन् ।
बिहीबार राति ८ बजेतिर पुर्चौंडी नगरपालिका ७ भवनेबाट जन्ती लिएर बझाङको सुनकुडातर्फ गइरहेको पवनदूत यातायातको सुपप्र ०२००१ ख १११९ नम्बरको बस पुर्चौंडी नगरपालिका ७ बडगाउँको मोडमा दुर्घटनामा परेको थियो । बस सडकबाट करिब १५० मिटर तल खसेको छ ।
दुर्घटनामा परी घाइते भएका २५ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनाको धनगढीमा उपचार भइरहेको छ । सामान्य घाइते भएका चार जनाको देउलेक प्राथमिक स्वास्थ्य केन्द्र बझाङमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेकाहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरूले उद्धार गरेका थिए । दुर्घटनाको यकिन कारण खुल्न नसकेको भएपनि उकालोमा अत्यधिक भारका कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
दुर्घटनामा सामान्य घाइते भएका बस चालक कञ्चनपुरको भीमदत्त नगरपालिका ७ का विरेन्द्र बुढालाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक बडूले बताए । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । बेहुलाबेहुली अर्को जिपमा रहेकाले सकुशल रहेका प्रहरीले जनाएको छ ।






