वीरगंज । पर्सा जिल्लाको थरुहट सडक खण्ड अन्तर्गत पर्ने दुई वटा महत्त्वपूर्ण पुल पछिल्ला १७ वर्षदेखि निर्माण अधूरै अवस्थामा रहेका छन् । झन्डै दुई दशक पुग्न लाग्दा पनि पुल सम्पन्न नहुँदा स्थानीय बासिन्दा, किसान, बिरामी तथा सुरक्षा निकायले दैनिक रूपमा सास्ती भोग्दै आएका छन् ।
पर्सा क्षेत्र नम्बर ३ अन्तर्गत पर्सागढी नगरपालिका ९ मा पर्ने तिलावे खोलामाथिको पुल निर्माण वर्षौंअघि सुरु भएपनि बीचमै रोकिएको छ । उक्त पुल निर्माणका लागि साढे पाँच करोड रुपैयाँको लागतमा ठेक्का सम्झौता भएपनि हालसम्म काम सम्पन्न हुन सकेको छैन । पुल नबन्दा थरुहट सडकको आवागमन र सम्पर्क प्रणाली नै प्रभावित बनेको छ ।
यसैगरी, पर्सा क्षेत्र नम्बर ३ को पटेर्वासुगौली गाउँपालिका ४ र क्षेत्र नम्बर ४ को जीराभवानी गाउँपालिका ५ को सिमानामा पर्ने भलुवाही खोलामाथिको पुलको अवस्था पनि उस्तै छ । यो पुलको ठेक्का पनि वर्षौंअघि साढे पाँच करोड रुपैयाँमा सम्झौता भए तापनि लामो समय बितिसक्दा पनि निर्माण कार्य अधूरै छ । यसले निर्माण कम्पनी तथा सम्बन्धित नियमनकारी निकायको जिम्मेवारी प्रति गम्भीर प्रश्न उठाएको छ ।
यी दुवै पुल थरुहट सडकका मुख्य आधार मानिन्छन् । वर्षायाममा खोलामा बाढी आउँदा हजारौँ सर्वसाधारणको आवागमन पूर्ण रूपमा अवरुद्ध हुने गरेको छ । स्थानीयका अनुसार एम्बुलेन्स चल्न नसक्दा बिरामीहरूलाई समयमा उपचार नपाउने अवस्था सिर्जना हुने गरेको छ ।
पुल नहुँदा कृषि उपज बजारसम्म पुर्याउन ढुवानी खर्च बढ्ने र किसानहरू आर्थिक रूपमा थप मारमा पर्ने गरेका छन् । साथै, सुरक्षा निकायको गस्ती र आपतकालीन परिचालनमा समेत कठिनाइ भइरहेको छ ।
स्थानीय बासिन्दाले पटक पटक प्रशासन, सम्बन्धित कार्यालय तथा जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराए पनि ठोस पहल नदेखिएको गुनासो गरेका छन् । निर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका उम्मेदवारहरूले पुल निर्माणको प्रतिबद्धता व्यक्त गरेपनि विगतका अनुभवका कारण स्थानीयहरू आश्वासन प्रति विश्वस्त देखिँदैनन् ।
स्थानीयको भनाइमा, १७ वर्षसम्म अलपत्र परेको पुललाई केवल चुनावी मुद्दा बनाइँदै आएको छ । चुनावपछि प्रतिबद्धता कार्यान्वयन नहुँदा जनआक्रोश बढ्दै गएको छ । उनीहरूले अब विकासका नाममा गरिने आश्वासन होइन, वास्तविक काम चाहिएको बताएका छन् ।




