सप्तरी । सप्तरीको रुपनी गाउँपालिका ६ दुधैला खोलामा शनिबार शंकास्पद वस्तु विस्फोट हुँदा चार जना बालक घाइते भएका छन् । वनभोज खान गएका बालकले खोलामा भेटिएको रकेट जस्तो देखिने वस्तुलाई खेलौना ठानी दाउरासँगै जम्मा गरी चुल्हो नजिक राखेका थिए ।
सोही क्रममा उक्त वस्तु अचानक विस्फोट भएको प्रहरीले जनाएको छ । विस्फोटबाट स्थानीय साजन आले मगरका ११ वर्षीय छोरा साहस, मनोज थापा मगरका ९ वर्षीय छोरा प्रशिस, कर्णबहादुर थापा मगरका १६ वर्षीय छोरा कविर र पदमबहादुर विकका १३ वर्षीय छोरा सुरज घाइते भएका हुन् ।
विस्फोटका छर्रा लागेर साहस र प्रशिसको खुट्टा तथा शरीरका विभिन्न भागमा र कविर र सुरजको शरिरका विभिन्न भागमा चोट लागेको छ । घाइते चारै जनालाई प्रारम्भिक उपचारका लागि मधेश प्रदेश प्रहरी अस्पताल रुपनी लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराज रेफर गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी डम्बरबहादुर पुरीका अनुसार घटनामा प्रयोग भएको शंकास्पद वस्तु र विस्फोटको कारण बारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलमा पगेर प्रहरीले अनुसन्धान थालेको प्रवक्ता पुरीले जानकारी दिए ।




