रौतहट । रौतहटको गौर नगरपालिका क्षेत्रमा नेपाल प्रहरीको गस्ती टोलीले श्रोत नखुलेको ४ लाख ९९ हजार रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार भन्सार कार्यालय हुँदै विपी चोकतर्फ जाने गौर नगरपालिका ३ स्थित सडक खण्डमा गरिएको सप्राइज चेकजाँचका क्रममा बीआर ३० यु ७२४७ नम्बरको मोटरसाइकलमा सवार गौर नगरपालिका १ का ४४ वर्षीय राकेश प्रसाद पक्राउ परेका हुन् ।
प्रहरीले राकेश सवार मोटरसाइकलको लेग गार्डमा राखिएको प्लास्टिकको झोलाभित्र उक्त नगद रकम फेला पारेको जनाएको छ । बरामद गरिएको रकमको श्रोत खुलाउन नसकेपछि नगद, मोटरसाइकलसहित राकेशलाई आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डीएसपी) विष्णु प्रदीप बस्यालले जानकारी दिए ।




