काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मधेश प्रदेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा कुल १ हजार ५४ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । टिकटका लागि दल परिवर्तनदेखि निर्वाचन क्षेत्र सर्नेसम्मका राजनीतिक उतार चढावले मधेशको चुनावी प्रतिस्पर्धा यस पटक झनै चासोको विषय बनेको छ ।
सबैभन्दा बढी उम्मेदवार धनुषा जिल्लामा रहेका छन् । यहाँ १ सय ५४ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने सबैभन्दा कम उम्मेदवार सप्तरीमा छन्, जहाँ १ सय ४ जना चुनावी दौडमा छन् ।
पूर्वप्रधानमन्त्रीदेखि भावी प्रधानमन्त्रीका दावेदारसम्म उम्मेदवार बनेपछि मधेशका थुप्रै निर्वाचन क्षेत्र राष्ट्रिय राजनीतिका केन्द्रमा परेका छन् । जसपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादव यस पटक सप्तरी ३ बाट उम्मेदवार बनेका छन् । उता जनमत पार्टीका अध्यक्ष डा. सीके राउत सप्तरी २ बाट पुन: चुनावी प्रतिस्पर्धामा छन् ।
सप्तरी २ मा मधेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह पनि उम्मेदवार बनेपछि यो क्षेत्र थप चर्चामा आएको छ । अघिल्लो निर्वाचनमा राउतले जसपा अध्यक्ष यादवलाई दोब्बरभन्दा बढी मतान्तरले हराएका थिए । यस पटक भने आफ्नै पूर्वसहकर्मी तथा पूर्वमुख्यमन्त्री सिंहसँगको प्रतिस्पर्धाले परिणाम अनिश्चित बनेको छ ।
धनुषा जिल्लाका केही क्षेत्रहरू पनि हेभिवेट उम्मेदवारका कारण चर्चामा छन् । धनुषा ४ बाट एमाले उपमहासचिव रघुवीर महासेठ उम्मेदवार छन् भने धनुषा ३ बाट उनकी पत्नी जुलीकुमारी महतो चुनावी मैदानमा छन् । यही क्षेत्रबाट नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झा पनि उम्मेदवार बनेका छन् । यसले धनुषा ३ लाई त्रिपक्षीय प्रतिस्पर्धाको केन्द्र बनाएको छ ।
सर्लाही जिल्लामा पनि चुनावी माहोल तातेको छ । सर्लाही ४ बाट नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका दावेदार गगन थापा उम्मेदवार बनेका छन् । काठमाडौं ४ बाट लगातार जित्दै आएका थापाले सुरक्षित क्षेत्र छाडेर मधेश रोज्नु राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । तर, यही क्षेत्रबाट रास्वपाका उम्मेदवार अमरेशकुमार सिंह मैदानमा उत्रिएकाले प्रतिस्पर्धा कडा हुने अनुमान छ ।
सर्लाही ३ मा नेकपाका नेता तथा पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ उम्मेदवार छन् । यो क्षेत्र कम्युनिष्ट प्रभाव क्षेत्र मानिँदै आएको छ । अघिल्लो निर्वाचनमा एमालेका हरिप्रसाद उप्रेती विजयी भएका थिए भने यस पटक पनि उनी श्रेष्ठका मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका छन् ।
रौतहट १ मा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ३९ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाल यस पटक नेकपाबाट उम्मेदवार बनेका छन् भने हालै कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री अनिलकुमार झा नेपाली कांग्रेसबाट प्रतिस्पर्धामा छन् । दुवै नेता यस पटक फरक दल र फरक चुनाव चिह्नसहित मैदानमा उत्रिनु यस क्षेत्रको अर्को रोचक पक्ष बनेको छ ।
समग्रमा हेर्दा, दल परिवर्तन, आन्तरिक विद्रोह, नयाँ राजनीतिक शक्तिको उदय र पुराना नेताबीचको प्रतिस्पर्धाले मधेश प्रदेशको प्रतिनिधिसभा निर्वाचन २०८२ लाई अत्यन्तै रोचक र अनिश्चित बनाएको छ ।




