वीरगञ्ज । करोडौँ रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको घटना चार महिना बितिसक्दा पनि प्रहरीले कुनै ठोस सुराक फेला पार्न सकेको छैन । कार्तिक १० गते वीरगञ्ज महानगरपालिका २६ श्रीसिया निवासी श्याम पटेलको घरबाट एक करोड रुपैयाँभन्दा बढीका सुनचाँदीका गहना र ५ लाख रुपैयाँ नगद चोरी भएको थियो ।
उक्त घर सुगौली इलाका प्रहरी कार्यालय र सुख्खा बन्दरगाह प्रहरी चौकीको ठिक बीचमा, दुवै प्रहरी युनिटबाट करिब एक किलोमिटरको दूरीमै रहेको छ । यति संवेदनशील स्थानमा भएको ठूलो चोरी प्रति प्रहरीले अपेक्षित सक्रियता नदेखाएको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
छठपर्वको दिन दिउँसै भएको उक्त चोरीपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । पछिल्ला चार महिनायता वीरगञ्ज क्षेत्रमा पेशेवर सुनचोर गिरोह सक्रिय रहेको बताइँदै आएको छ । यति ठूलो परिमाणको चोरी भएपनि प्रहरीको अनुसन्धान कमजोर देखिएको स्थानीयको आरोप छ ।
पर्सा प्रहरी कार्यालयमा प्राप्त उजुरी अनुसार कार्तिकयता वीरगञ्जका तीन वटा घरबाट एक करोड रुपैयाँभन्दा बढीका सुनचाँदीका गहना चोरी भइसकेका छन् । आसन्न निर्वाचनका कारण प्रहरी व्यस्त भएका बेला सीमावर्ती भारतीय चोर गिरोह सक्रिय भएको हुन सक्ने प्रहरी स्रोतको आशंका छ ।
प्रहरी अनुसन्धान अनुसार चोर गिरोहले लामो समयसम्म घरको निगरानी (रेक्की) गर्ने, गहना राखिएको स्थान बारे पुख्ता सूचना संकलन गर्ने र घरमा कोही नभएको मौका छोपी चोरी गर्ने गरेको खुलेको छ ।
यसैबीच, माघ १२ गते वीरगञ्ज महानगरपालिका १५ एनआई कलेज जाने सडक नजिकै रहेको श्यामकिशोरलाल कर्णको घरबाट करिब ५० लाख रुपैयाँ बराबरको सुनचाँदीका गहना चोरी भएको छ । घर खाली रहेको बेला तीन जना अपरिचित व्यक्तिले मुखमा मास्क लगाएर चोरी गरेको सीसीटीभी फुटेज समेत प्रहरीले फेला पारेको जनाएको छ।
त्यसको भोलिपल्ट माघ १३ गते, लिङ्क रोडस्थित वीरेन्द्र सिंहको घरबाट १० तोलाभन्दा बढी सुनका गहना चोरी भएको छ । सिंह परिवार वीरगञ्ज बाहिर गएको मौका छोपी चोरहरूले घरको ढोका फोडेर गहना चोरेका हुन् । ती गहना उनीहरूले एक हप्ता अघि मात्र बैंकबाट झिकेर ल्याएका थिए ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सुन र घडी चोरी भएको उजुरी परेको भएपनि उजुरीमा गहनाको तौल र संख्या उल्लेख नभएकाले यकिन रकम सार्वजनिक गर्न नसकिने बताइएको छ । लगातार भएका यस्ता घटनाले पर्सा प्रहरीका लागि ठूलो सुरक्षा चुनौती थपिएको छ ।
पर्सा प्रहरीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता हरिबहादुर बस्नेतले मान्छे नभएको घरलाई लक्षित गरेर चोरीका घटना बढेको स्वीकार गर्दै भने, “पछिल्ला दिनमा वीरगञ्ज महानगर आसपास तीन वटा चोरीका उजुरी आएका छन् । सबै घटनाको प्रकृति मिल्दोजुल्दो देखिएकाले पेशेवर गिरोह सक्रिय भएको निष्कर्षमा पुगेका छौँ ।”
उनले उपलब्ध स्रोत साधन र प्रविधिको प्रयोग गरी सक्रिय अनुसन्धान भइरहेको दाबी गर्दै छिट्टै सफलता मिल्ने विश्वास व्यक्त गरे । प्रवक्ता बस्नेतले सर्वसाधारणलाई घर खाली छोडेर बाहिर जानुपरेमा स्थानीय प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै भने, “यस्तो जानकारी पाएमा प्रहरीले निगरानी बढाएर आवश्यक सुरक्षा व्यवस्था मिलाउन सक्छ ।”
यसैबीच, भारतको बिहारमा सुरक्षा कडाइ बढेसँगै सीमावर्ती अपराधीहरू वीरगञ्जतर्फ सरेको आशंका गरिएको छ । वीरगञ्ज नजिकैको भारतीय बजार घोडासहन क्षेत्रमा सक्रिय ‘सटरतोर्वा’ समूह भारतमै कुख्यात मानिन्छ । ती अपराधीहरूको वीरगञ्जका अपराधीसँग पुरानै सम्बन्ध रहेको भन्दै भारतीय गिरोहको संलग्नता हुन सक्ने आशंका बलियो बन्दै गएको छ ।




