रौतहट । रौतहटको गैंडाटार सब–डिभिजन वन कार्यालय अन्तर्गतको वन क्षेत्रमा पछिल्लो समय बहुमूल्य खयर जातका रुखहरूको अवैध कटान तीव्र रूपमा बढ्दै गएको पाइएको छ ।
वन क्षेत्रमा खुलेआम रुख फँडानी भइरहँदा पनि सम्बन्धित निकायबाट प्रभावकारी अनुगमन तथा नियन्त्रण नहुँदा स्थानीय स्तरमा गम्भीर गुनासो उठ्न थालेको छ ।
स्थानीय स्रोतका अनुसार प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि र प्रशासनिक व्यस्तताको फाइदा उठाउँदै संगठित तस्कर समूहले खयर रुखको अवैध कटानलाई तीव्र बनाएका छन् ।
खयरजस्ता बहुमूल्य काठ डमरु, मादल लगायत सांस्कृतिक सामाग्री निर्माणको बहानामा व्यापारिक प्रयोजनका लागि काटिँदै आएको र त्यसको केही हिस्सा सीमापार भारततर्फ समेत ओसार पसार भइरहेको बताइएको छ ।
वन क्षेत्रबाट काठको ढुवानी दिन दहाडै भइरहँदा पनि सब–डिभिजन तथा डिभिजन वन कार्यालयले ठोस अनुगमन नगरेको स्थानीयवासीको आरोप छ । उनीहरूका अनुसार यस्तो मौनताले अवैध कटानमा संलग्न समूहलाई थप हौसला मिलिरहेको छ ।
वन संरक्षण र जैविक विविधताको रक्षा गर्ने जिम्मेवारी बोकेका निकाय नै निष्क्रिय बनेको भन्दै स्थानीयले रौतहटको वन सम्पदा गम्भीर संकटमा परेको चेतावनी दिएका छन् ।
तत्काल कडा अनुगमन, छापामारी तथा दोषीमाथि कानुनी कारबाही अघि नबढाइए खयरसहित अन्य बहुमूल्य जातका रुखहरू समाप्त हुने जोखिम बढ्दै जाने उनीहरूको भनाइ छ ।




