वीरगंज । जिल्ला प्रहरी कार्यालयले वीरगंजको अवैध गोदाममा छापा मार्न जाँदा सशस्त्र प्रहरी माथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।
वीरगंज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलले सोमबार वीरगंजको आदर्शनगरस्थित अवैध गोदाममा छापा मार्ने क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते र सशस्त्र प्रहरीका दुई वटा सवारी साधनमा क्षति पुगेको थियो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको जानकारी दिए ।
‘सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको सिसी क्यामेरा फुटेज हेरेर आवश्यक अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूका बारेमा आवश्यक अनुसन्धान भइरहेकाले पनि संलग्नहरूको नाम पछि मात्र सार्वजनिक गर्नेछौँ ।’
संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको हो । यहाँबाट सशस्त्र प्रहरीले करिव १२ लाख ५० हजार रुपैयाँ मूल्यका सामान बरामद गरेको जनाएको छ ।




