सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह प्रति जनसमर्थन उल्लेखनीय रूपमा बढिरहेको देखिएको छ । यही क्रममा उनले आज सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा रोड शो गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले उम्मेदवारी दिएको क्षेत्र नम्बर ४ मा बालेनको उपस्थितिलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ । पार्टीका उम्मेदवारको मनोबल उच्च बनाउने र जनसमर्थन विस्तार गर्ने उद्देश्यले देशव्यापी दौडाहामा रहेका बालेन बुधबार बिहान सर्लाही पुगेका हुन् ।
लालबन्दीबाट सुरु भएको उनको रोड शो नवलपुर हुँदै सदरमुकाम मलंगवा पुगेको थियो । त्यसपछि हुलाकी मार्ग प्रयोग गर्दै उनी क्षेत्र नम्बर ४ अन्तर्गत विभिन्न स्थानमा पुगेका थिए ।
उक्त क्षेत्रबाट रास्वपाका उम्मेदवार डा. अमरेश कुमार सिंह चुनावी मैदानमा छन् । डा. सिंह र गगन थापा बीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । यस्तो अवस्थामा बालेनको रोड शोलाई चुनावी समीकरणमा प्रभाव पार्न सक्ने देखिन्छ ।
सर्लाहीको गोडैता, हिरापुर, बरहथवा, नयाँरोड र बागमती लगायतका स्थानमा हजारौं समर्थकको उपस्थिति देखिएको थियो । रास्वपाको झन्डा र फूलमाला बोकेर सर्वसाधारण बालेनलाई स्वागत गर्न उत्साहित देखिन्थे ।




