सप्तरी । सप्तरीको राजविराजमा रहेको गजेन्द्रनारायण सिंह अस्पतालमा पछिल्ला दिनहरूमा बिरामीको अत्यधिक चाप बढेपछि उपचार सेवा प्रवाह प्रभावित भएको छ । दैनिक रूपमा आकस्मिक कक्षमा ५० देखि ६० जनासम्म बिरामी आउने गरेका कारण बेड तथा जनशक्तिको अभाव देखिएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालमा झाडापखाला, ज्वरो लगायतका बिरामीको संख्या बढेको छ, जसमा बालबालिकाको उपस्थिति उल्लेखनीय रहेको बताइएको छ । बिरामीको चाप थेग्न नसक्दा कतिपयलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था सिर्जना भएको छ ।
आकस्मिक कक्षमा एक सिफ्टमा एक जना चिकित्सकसहित तीन जना स्वास्थ्यकर्मी मात्र खटिने व्यवस्था भएपनि उनीहरूलाई दैनिक ५०–६० बिरामीको उपचार गर्न कठिनाइ भइरहेको जनाइएको छ । हाल आकस्मिक कक्ष, सामान्य वार्ड तथा एचडीयू कक्ष सबै भरिभराउ अवस्थामा छन् ।
५० शय्याको स्वीकृत दरबन्दी भएको उक्त अस्पतालमा लामो समयदेखि १६२ बेड बराबरका बिरामीलाई सेवा दिइँदै आएको छ । प्रावधान अनुसार ५० शय्याको अस्पतालमा पाँच प्रतिशत अर्थात् पाँच बेड आकस्मिक सेवाका लागि छुट्याउनु पर्ने भएपनि यहाँ २५ बेडको आकस्मिक सेवा सञ्चालनमा छ । तर, त्यसको पनि दोब्बर संख्यामा बिरामीको नियमित उपचार गर्नुपर्ने बाध्यता रहेको जनाइएको छ ।
सङ्घीय अस्पतालका रूपमा तीन सय शय्यामा स्तरोन्नति हुनुपर्ने भएपनि आवश्यक विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको अभावका कारण सेवा व्यवस्थापनमा समस्या भइरहेको प्रशासनले जनाएको छ । विशेषज्ञ चिकित्सक अभावमा गम्भीर प्रकृतिका बिरामीको उपचारमा थप चुनौती थपिएको छ ।
जनशक्ति, भौतिक संरचना तथा उपकरण अभावका कारण नियमित सेवा प्रवाहमा कठिनाइ भइरहेको भन्दै अस्पताल प्रशासनले आवश्यक स्रोत साधन उपलब्ध गराइएमा बिरामीलाई सहज र प्रभावकारी उपचार सेवा प्रदान गर्न सकिने जनाएको छ ।




