धनुषा । धनुषा जिल्लामा पहिचान नखुलेको एक जना तेस्रो लिङ्गीको शव फेला परेको छ । बुधबार जनकपुर यदुकाहा सडकखण्ड अन्तर्गत बेलौनी र पौडेश्वरको बीच क्षेत्रमा शव भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार स्थानीयवासीको सूचनाका आधारमा घटनास्थल पुगेको टोलीले शव बरामद गरेको हो । मृतकको पहिचान हालसम्म खुल्न सकेको छैन । शवलाई परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
प्रारम्भिक अवलोकनका क्रममा शरीरमा बाह्य घाउचोट नदेखिएपनि घाँटीको भागमा निलडाम देखिएको प्रहरीले जनाएको छ । घटनास्थलबाट आवश्यक प्रमाण सङ्कलन गरी मुचुल्का उठाउने कार्य सम्पन्न गरिएको छ ।
घटनाको प्रकृति र कारण खुलाउन प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ ।




