रौतहट । रौतहटमा अवैध रूपमा ओसार पसार भइरहेको साल जातको काठ संयुक्त गस्ती टोलीले बरामद गरेको छ । जङ्गलसहिया सब–डिभिजन वन कार्यालय र सशस्त्र प्रहरी बलको टोलीले बुधबार राति करिब ९ः३० बजे उक्त काठ नियन्त्रणमा लिएको हो ।
वन कार्यालयका अनुसार गस्तीका क्रममा जङ्गलसहिया साझेदारी वन अन्तर्गत बागमती नहर नजिक सुमो गाडीमा लोड गरिएको अवस्थामा दुई थान साल गोलिया काठ फेला परेको थियो ।
घटनास्थलबाट भारतीय नम्बर प्लेटको सुमो र नेपाली नम्बर प्लेटको मोटरसाइकल समेत बरामद गरिएको छ । टोली पुगेपछि काठ ढुवानीमा संलग्न व्यक्ति सवारी साधन छाडेर फरार भएको जनाइएको छ ।
बरामद काठ तथा सवारी साधन डिभिजन वन कार्यालय रौतहटको घाटगद्दीमा राखिएको छ । काठको नापजाँचसहित थप अनुसन्धान प्रक्रिया अघि बढाइएको कार्यालयले जनाएको छ ।
वन क्षेत्रमा विशेष गरी निर्वाचनको समयमा साल काठको अवैध तस्करी बढ्ने भएकाले सशस्त्र प्रहरीसहित संयुक्त गस्ती परिचालन गरिएको पनि कार्यालयले जानकारी दिए ।




