रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचनका क्रममा बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा प्रयोग नगर्न आग्रह गरेको छ । आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रशासनले सूचना जारी गर्दै यस्तो निर्देशन दिएको हो ।
रौतहटका सहायक सिडिओ जितेन्द्र कुमार यादवले शुक्रबार एक प्रेस विज्ञप्ति जारी उक्त आग्रह गरेका हुन् । बालबालिका राष्ट्रका भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल तथा सम्पूर्ण समाजको साझा दायित्व भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपालको संविधान, बाल अधिकारसम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता अनुसार पनि बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था रहेको सूचनामा जनाइएको छ ।
निर्वाचन प्रक्रियालाई पूर्ण रूपमा बालमैत्री, मर्यादित र कानुनसम्मत बनाउन सबै राजनीतिक दल, उम्मेदवार, समर्थक तथा सरोकारवालालाई बालबालिकालाई चुनावी सभा, जुलुस, प्रचारप्रसार लगायत कुनै पनि गतिविधिमा प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।




