काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि हालसालै परीक्षा भएका सबै तहका विद्यार्थीहरुलाई खोप लगाउने व्यवस्था गरेको छ । खोप नलगाएका विद्यार्थी परीक्षामा सहभागी हन नपाउने भन्ने हल्ला चलिरहेको बेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे स्पष्ट पारेको छ । खोप नलगाएका विद्यार्थीले पनि परीक्षा दिन पाउने मन्त्रालयले जनाएको छ ।
‘उमेर नपुगेर, कुनै स्वास्थ्य समस्या भएर वा अन्य कारणले खोप लगाउन नपाउनु भएका विद्यार्थीहरुले पनि कुनै बाधा विना नै परीक्षा दिन पाउनुहुनेछ’, मन्त्रालयले सूचनामा भनेको छ ।
परीक्षा दिन जाँदा भौतिक दुरी कायम गर्न, अनिवार्य रुपमा मास्क लगाउन र सम्भव भएसम्म साबुनपानीले हात धुन वा सेनिटाइजरको प्रयोग गर्न पनि मन्त्रालयले सुझाएको छ ।
अहिले स्नातक तहका परीक्षाहरू चलिरहेका छन् । परीक्षा दिइरहेका र परीक्षाकाे पर्खाइमा रहेका कक्षा १२ का विद्यार्थीले पनि खाेप लगाउने व्यवस्था गरिएकाे छ । खाेप लगाउनका लागि १८ वर्ष पुरा भएकाे हुनुपर्छ । खाेप लगाउन जाँदा प्रवेशपत्र अनिवार्य लैजानुपर्छ ।






