विराटनगर । विराटनगरमा आइतबार बिहान दुर्घटनामा परेको गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । विराटनगर महानगरपालिका ५ स्थित पुलचोकमा आइतबार बिहान १ बजेतिर दुर्घटनामा परेको स्कारपिओ गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको मोरङ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार सडक छेउको खाल्डोमा परेर दुर्घटनामा परेको बा ८ च ६५०८ नम्बरको गाडीबाट ४ सय २० किलो गाँजा बरामद भएको हो । राति प्रहरीलाई छलेर गाँजा लिएर भित्री सडक खण्ड हुँदै तीव्र गतिमा गुडिरहेका गाडी अचानक अनियन्त्रित भई सडक छेउको खाल्डोमा खसेर दुर्घटना भएको अनुमान गरिएको छ ।
सवारी दुर्घटनाको खबर आउना साथ सिआरभी र वडा प्रहरी कार्यालय विराटनगर (क) को टोली पुग्दा त्यहाँ गाडी मात्रै फेला परेको र चालक फरार भइसकेको थियो । गाडीमा चालक मात्रै थिए वा अन्य कोही थिए वा थिएनन् खुल्न बाँकी रहेको छ । चालक, गाडीधनी लगायतको खोजीका साथै घटनाको थप अनुसन्धान अघि बढाइएको छ ।
प्रहरीका अनुसार दुर्घटना भएको गाडीलाई खाल्डोबाट क्रेनको मद्दतले बाहिर निकालेपछि खान तलासी गर्दा गाडीभित्र सिट तथा डिक्कीको भागमा प्लास्टिकले बेरेर लुकाइछिपाइ राखिएको अवस्थामा ४ सय २० केजी गाँजा फेला परेको हो । यद्यपि, गाँजा कहाँबाट ल्याइएको र अन्तिम गन्तव्य कहाँ थियो भन्ने बारे अनुसन्धानपछि प्रष्ट हुनेछ ।






