पाल्पा । सडकमा गुडिरहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा पाल्पामा दुई जनाको मृत्यु भएको छ । शनिबार दिउसो साढे दुई बजेतिर तिनाउ गाउँपालिका वडा नं. ३ दोभानस्थित सिद्धार्थ राजमार्गमा उक्त दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक होम प्रकाश चौधरीका अनुसार बुटवलदेखि पाल्पातर्फ जाँदै गरेको लु ४९ प ७७९५ नम्बरको मोटरसाइकललाई पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख १८८३ नम्बरको टिप्परले ठक्कर दिएको थियो ।
टिप्परले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक गुल्मी पूर्तिघाट ४ का ३१ वर्षीय मिलन सार्की छन् भने अर्की महिलाको पहिचान खुलेको छैन ।
प्रहरी नायब उपरीक्षक चौधरीले मोटरसाइकलको पछाडि सवार अन्दाजी ३१ वर्षीय महिलाको पनि मृत्यु भएको जानकारी दिए । दुर्घटनापछि गम्भीर घाइते अवस्थामा उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएकोमा चेकजाँच गर्दा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि मोटरसाइकललाई ठक्कर दिने टिप्पर र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक चौधरीले बताए ।






