रौतहट । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्ला प्रशासनले बालबालिकालाई कुनै पनि राजनीतिक वा चुनावी गतिविधिमा संलग्न नगराउन स्पष्ट सन्देश जारी गरेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र कुमार यादवले बताए अनुसार, बालबालिका राष्ट्रको भविष्य हुन् र उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि र मानसिक शारीरिक शोषणबाट टाढा राख्नु राज्य, राजनीतिक दल र समाजको साझा जिम्मेवारी हो ।
प्रशासनको प्रेस विज्ञप्तिमा नेपाल संविधान, बाल अधिकार सम्बन्धी ऐन तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताले बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न निषेध गरेको उल्लेख गरिएको छ ।
जिल्ला प्रशासनले सबै राजनीतिक दल, उम्मेदवार, समर्थक र सरोकारवालालाई चुनावी सभा, जुलुस, प्रचार प्रसार लगायतका गतिविधिमा बालबालिकालाई प्रयोग नगर्न विशेष आग्रह गरेको छ ।
यसैगरी, निर्वाचन प्रक्रिया स्वच्छ, मर्यादित र बालमैत्री ढंगले सम्पन्न गर्न प्रशासनले सबैलाई सचेत रहन आह्वान गरेको छ । प्रशासनको यो पहलले बालबालिकाको सुरक्षा सुनिश्चित गर्दै निर्वाचनलाई लोकतान्त्रिक, जिम्मेवार र सामाजिक दृष्टिले सुरक्षित बनाउने प्रयासको संकेत गर्दछ ।




