सर्लाही । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को कार्यसम्पादन मूल्यांकनले सर्लाहीका स्थानीय तहहरूको अवस्था मिश्रित देखाएको छ । २० पालिकामध्ये आधाभन्दा बढीले सन्तोषजनक मानिने ५० अङ्कसमेत कटाउन नसक्दा स्थानीय शासनको प्रभावकारितामाथि प्रश्न उठेको छ ।
आयोगको प्रतिवेदन अनुसार १० वटा पालिकाले ५० अङ्कभन्दा कम प्राप्त गरेका छन् । सबैभन्दा कम अङ्क चन्द्रनगर गाउँपालिकाले पाएको छ, जसले ३५.१६ अङ्कमा सीमित रह्यो । त्यसपछि क्रमश: रामनगर गाउँपालिका (४०.५३), कविलासी नगरपालिका (४२.३६), हरिपुर्वा नगरपालिका (४२.८०), गोडैता नगरपालिका (४३.९६), ब्रम्हपुरी गाउँपालिका (४४.५१), बसबरिया गाउँपालिका (४५.६१), पर्सा गाउँपालिका (४६.०८), ईश्वरपुर नगरपालिका (४६.८३) र मलङ्गवा नगरपालिका (४९.२५) रहेका छन् ।
यता ५० अङ्क कटाउन सफल ७ पालिकामध्ये कौडेना गाउँपालिकाले ५९.२० अङ्कसहित उल्लेखनीय प्रदर्शन गरेको छ । बागमती नगरपालिका (५८.२१), लालबन्दी नगरपालिका (५७.२३), विष्णु गाउँपालिका (५४.३५), धनकौल गाउँपालिका (५३.३७), चक्रघट्टा गाउँपालिका (५१.८१) र बलरा नगरपालिका (५०.२७) ले पनि औसतभन्दा माथिको प्रदर्शन गरेका छन् ।
जिल्लामा उत्कृष्ट प्रदर्शन गर्ने पालिकाको रूपमा बरहथवा नगरपालिका ६४.३९ अङ्कसहित पहिलो स्थानमा उक्लिएको छ । हरिवन नगरपालिका ६२.०२ अङ्कसहित दोस्रो र हरिपुर नगरपालिका ६१.१९ अङ्कसहित तेस्रो स्थानमा छन् । यी तीन पालिकाले तुलनात्मक रूपमा योजनाबद्ध बजेट कार्यान्वयन, राजस्व संकलन र सुशासनका सूचकमा राम्रो नतिजा देखाएका छन् ।
आयोगले बजेट तर्जुमा तथा कार्यान्वयन, राजस्व परिचालन, लेखापरीक्षणको स्थिति, शिक्षा र स्वास्थ्य सेवाको अवस्था, पारदर्शिता तथा सुशासन लगायत १७ वटा सूचकका आधारमा मूल्याङ्कन गरेको जनाएको छ ।
प्रतिवेदनले सर्लाहीका अधिकांश पालिकामा कार्यान्वयन क्षमता, वित्तीय अनुशासन र सेवा प्रवाहमा सुधारको आवश्यकता रहेको संकेत गरेको छ । विशेष गरी ५० अङ्कमुनि रहेका पालिकाहरूका लागि आगामी आर्थिक वर्षमा योजना व्यवस्थापन, राजस्व संकलन र उत्तरदायित्व प्रणाली सुदृढ बनाउने चुनौती थप स्पष्ट भएको देखिन्छ ।




