सप्तरी । सप्तरीमा निर्वाचन आचारसंहिता उल्लङ्घन गरी प्रचार प्रसारमा प्रयोग गरिएका दुई वटा भारतीय नम्बर प्लेटका सवारी साधनलाई स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रचारका क्रममा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ (रास्वपा) र ‘स्वाभिमान पार्टी’को प्रचार प्रसारमा प्रयोग गरिएका विदेशी नम्बर प्लेटको गाडी नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रशासन कार्यालय सप्तरीका सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवको नेतृत्वमा खटिएको अनुगमन टोलीले उक्त गाडीहरू नियन्त्रणमा लिई कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको थियो ।
प्रहरी अनुसन्धान र प्राप्त विवरण अनुसार सप्तरी क्षेत्र नम्बर २ का स्वाभिमान पार्टीका उम्मेदवार सतिशकुमार सिंहका समर्थकले बीआर ११ पीबी ८६१० नम्बरको स्कार्पियो प्रयोग गरिरहेको पाइएको थियो ।
त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचार प्रसारमा बीआर ६७ पीबी ८९५६ नम्बरको भारतीय स्कार्पियो प्रयोग भइरहेको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक डम्बरबहादुर पुरीले निर्वाचन आचारसंहिताले प्रचार प्रसारका क्रममा अनुमति बिना विदेशी नम्बर प्लेटका सवारीसाधनको प्रयोगमा रोक लगाएको बताए ।
उनका अनुसार आचारसंहिता विपरीत कार्य गरेकाले नियन्त्रणमा लिइएका गाडिलाई आगामी दिनमा आचारसंहिता उल्लङ्घन नगर्ने सर्तमा कागज गराएर सम्बन्धित पक्षको जिम्मा लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले निर्वाचन आचारसंहिताको पूर्ण पालना गराउन अनुगमनलाई कडाइ गरिएको र उल्लङ्घन गर्ने जोकोही माथि कानुनी कारबाही हुने चेतावनी दिएको छ ।




