काठमाडौं । माओवादी कार्यकर्ता भन्दै डरधम्की देखाएर चन्दा असुल्ने २ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । नेकपा बहुमतका केन्द्रीय सदस्य व्यास नगरपालिका-१३ छाब्दी बस्ने ३२ वर्षका लक्ष्मण पाण्डे र कास्कीको माछापुच्छ्रे गाउँपालिका-२ का ३७ वर्षीय भीमसेन परियार पक्राउ परेका हुन् ।
उनीहरूको साथबाट चन्दा असुलीमा प्रयोग भएका सामग्री र नगदसमेत बरामद गरेको छ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) गण्डक ब्युरो लेखिएको रसिद प्रहरीले बरामद गरेको हो । उक्त रसिदबाट विभिन्न व्यक्ति र संघ संस्थाको नाममा काटिएका १५ थान अर्धकट्टीसमेत भेटिएको छ ।
प्रहरीले उनीहरूबाट जातवार्ता ‘आहुती’ लेखिएको १ थान पुस्तक, २ थान डायरी र ३ थान मोबाइल फोनसमेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका दुवै जनालाई चन्दा ऐनसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ । कास्की जिल्ला अदालतले उनीहरुलाई थप अनुसन्धानका लागि ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।






