रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाको पेटभर्वा गाउँमा एक महिलाको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको छन् । फतुवा विजयपुर नगरपालिका ६ पेटभर्वा गाउँमा एक जनाको शव फेला परेको हो ।
आइतबार ११:५० बजे धुपा राय यादवका छोरा ४२ वर्षीय महन्थ राय यादवको २८ वर्षीया श्रीमती आरती देवी यादवको घाँटीमा धारिलो हतियारले काटिएको मृत शव खाटमा उतानो परेको अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय सन्तपुर दोस्तियामा प्राप्त सूचनाको आधारमा सईको कमाण्डमा खटिएका प्रहरी टोलीले पुगेर ढोका खोलेपछि आरती खाटमै उतानो परेको अवस्थामा फेला परेको रौतहटका सूचना अधिकारी एवम् डिएसपी विष्णुप्रदीप बस्यालले जानकारी दिए ।
बस्यालले महिलाको घाँटी काटिएको र खाट छेउमै रगत भेटिएको हुँदा हत्याको आशंका व्यक्त गरेका छन् । आरतीको श्रीमान महन्थ राय यादव फरार रहेको हुँदा निजको तिव्र रुपमा खोजी कार्य भइरहेको तथा घटना सम्बन्धमा प्रहरीले अनुसन्धान गर्दा श्रीमानद्वारा नै श्रीमतीको हत्या भएको हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
आरतीको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको उनले बताए ।






