सर्लाही । पूर्वाधार विकास कार्यालय मलङ्गवामा कार्यरत सव-इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या भएको विरोधमा सर्लाहीका सम्पूर्ण सरकारी कार्यालयको कामकाज मंगलबार ठप्प पारिएको छ । सरकारी कार्यालयमा कार्यरत कर्मचारीले शान्ति सुरक्षा र मृतक सव-इन्जिनियर यादवलाई सहिद घोषणा गर्न माग गर्दै एक दिनका लागि जिल्लाभरका कार्यालयको कामकाज ठप्प पारेका हुन् ।
३६ वर्षीय यादवको आइतबार बेलुका ८ बजेतिर मलङ्गवा नगरपालिका १० देवीटोलस्थित डेरामा गोली प्रहार गरी हत्या भएको थियो । सिरहाको सुखीपुर नगरपालिका ९ बैसाखा घर भएका यादवको हत्या रहस्यमय देखिएको छ । प्रहरीले मंगलबार दिउँसोसम्म घटनामा संलग्न व्यक्तिलाई पक्राउ गर्न सकेको छैन । आन्दोलित कर्मचारीले दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका छन् ।
कर्मचारी मिलन केन्द्र सर्लाहीसहित विभिन्न कर्मचारी सङ्घ सङ्गठनले संयुक्त विज्ञप्ति निकाली साङ्केतिक रूपमा मङ्गलबार कार्यालय बन्द गरिएको र माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिए । कर्मचारी मिलन केन्द्र सर्लाहीका सचिव दिलीपकुमार थापाले प्रत्येक कार्यालयमा सेवा बन्द गरेर कालो ब्यानरसहित प्रदर्शन गरिएको जानकारी दिए ।
सव-इन्जिनियर यादवको परिवारलाई सोमबार बेलुका मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले भेट गरेका थिए । उनले जिल्ला प्रहरी प्रमुखसहित अन्य प्रहरी अधिकारीलाई तत्काल दोषी पक्राउ गर्न र घटनाको गम्भीर ढङ्गले अनुसन्धान गर्न निर्देशन दिए । सर्लाही प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) योगेन्द्रकुमार खड्काले सव-इन्जिनियर यादवको हत्यामा संलग्न व्यक्तिहरूको खोजी जारी रहेको बताए । उनका अनुसार यादवमाथि गोली प्रहार हुनुको कारण अझै खुल्न सकेको छैन ।






