मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिका २ मार्फामा श्रीमानले दाउराले प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । रसुवा जिल्ला उत्तरगया गाउँपालिका ५ घर भई डेरा गरी बस्ने २३ वर्षीय अश्विन थापा मगरले श्रीमती ३१ वर्षीया शान्ति गुरूङलाई सालको काठले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी नवराज न्यौपानेले फागुन ४ गते सोमबार राति घरायसी विवादका कारण श्रीमतीलाई टाउकोमा प्रहार गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको बताए ।
सूचना अधिकारी न्यौपानेले भने, ‘‘सोही दिन दिउँसो झगडा भएको रहेछ, मदिरा सेवन गरेको अवस्थामा घटना घटेको देखिन्छ ।’’ जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले अभियुक्तलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गरिएको छ ।
अभियुक्त थापामगरले मदिरा सेवन गरी नियमित कुटपिट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।






