वीरगंज । प्रादेशिक अस्पताल पोखरियामा रहेको एक्सरे मेशीनको सेवा अस्थायी रूपमा अवरुद्ध भएको छ । अस्पतालमा डेढ वर्षअघि जडान गरिएको एक्सरे मेशीनका केही पार्टपुर्जा ठेकेदारले झिकेर लगेपछि दैनिक २०–३० विरामीले लाभ लिने सेवा प्रभावित भएको हो ।
अस्पतालले एक्सरे मेशीन जडानका लागि गढीमाई इन्टरप्राइजेजलाई साढे चार लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको थियो । पछिल्लो समयमा अस्पतालले भुक्तानी गर्न एक महिनाको समय पाएको भएपनि रकम बुझाएको थिएन । त्यसपछि ठेकेदार विजय गुप्ताले सोमबार मेशीन सञ्चालन नहुने गरी केही पार्टपुर्जा लिएर लगेपछि सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष उमेश चौहानका अनुसार प्रदेश सरकारले भुक्तानीको लागि अनुरोध गरिसकेको भएपनि प्रदेश कार्यालयको खाता अहिलेसम्म सञ्चालनमा नहुँदा रकम बुझाउन नसकिएको हो । उनले भुक्तानीको व्यवस्थापन एक साताभित्र गर्ने प्रयास गर्दा पनि ठेकेदारले नमानेर मेशीनका केही पार्टपुर्जा झिकेका हुन् ।
विशेषज्ञहरू भन्छन्, स्वास्थ्य सेवा सञ्चालनमा ठेकेदार र सरकारी निकायबीचको आर्थिक विवादले विरामीहरुलाई प्रत्यक्ष असर परेको छ । प्रादेशिक अस्पताल पोखरियामा एक्सरे सेवा प्रभावित हुँदा उपचारमा समस्या देखिन थालेको छ । विरामीहरूले एक्सरेका लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यता सामना गर्नुपरेको छ ।
अस्पताल प्रशासनले विरामीलाई न्यूनतम असर पर्ने गरी सेवा पुन: सुरु गर्ने उपाय खोजिरहेको र प्रदेश सरकारसँग भुक्तानी व्यवस्था गर्न पहल गरिरहेको जनाएको छ । स्वास्थ्यकर्मी र स्थानीयबासीले भने सेवा अवरुद्ध हुँदा असहज भएको बताएका छन् ।




