सर्लाही । सर्लाहीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईले दिएको जानकारी अनुसार दुर्घटना गएराति करिव आठ बजेतिर ईश्वरपुर नगरपालिका १३ बाँके-संग्रामपुर सडक खण्डको ठिल्ला नजिकै भएको हो ।
दुर्घटनामा सर्लाहीकै हरीपुर्वा नगरपालिका ९ मिर्चैया बस्ने करिब ३० वर्षका मुकेश राय र सोही ठाउँका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अचेत अवस्थामा फेला परेका उनीहरूलाई लालबन्दीस्थित मोडल अस्पतालमा हुँदै मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।
गएराति १० बजे अस्पताल पुर्याउँदा चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका हुन् । दुर्घटनामा सर्लाहीकै हरिपुर्वा नगरपालिका ९ बस्ने २२ वर्षीय विक्रम राय र सोही ठाउँ बस्ने ४२ वर्षीय रामविश्वास राय सामान्य घाइते भएका छन् । उनीहरूलाई लालबन्दीस्थित मोडेल अस्पतालमा सामान्य उपचार पश्चात इलाका प्रहरी कार्यालय केशरगंजले नियन्त्रणमा लिएको छ ।
बुधबार राति ८ बजे ईश्वरपुर नगरपालिका १३ बाँके-संग्रामपुर सडक खण्डको ठिल्ला नजिकै बीआर ३० एआर ३४५८ र बीआर ३० एपी ३८०९ र एसपी सी ०६२३ नम्बरका तीन वटा मोटरसाइकल एकै ठाउँमा दुर्घटनाग्रस्त अवस्था फेला परेका प्रहरीले जनाएको छ ।
दुर्घटनास्थलबाट चारै जना घाइतेलाई उठाएर प्रहरीले उपचारको लालबन्दीस्थित मोडल अस्पताल पुर्याएको थियो । तीव्र गतिको कारण दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




