सर्लाही । सर्लाहीसहित तराई–मधेश क्षेत्रमा पछिल्लो समय धुलो र धुवाँको अत्यधिक प्रकोप देखिएको छ । जताततै सडक भत्काएर नयाँ सडक निर्माण गर्ने काम, उखु काटिसकेपछि पत्कर जलाउने प्रचलन तथा साँझपख सडक छेउ, घर गोठ आसपास घुर बाल्ने गतिविधिका कारण वातावरणमा धुलो धुवाँको मात्रा बढेको हो ।
वातावरण प्रदूषण बढेसँगै सबै उमेर समूहका मानिसमा विभिन्न स्वास्थ्य समस्या देखिन थालेको चिकित्सकहरूले बताएका छन् । स्थानीय अस्पतालहरूमा उपचारका लागि आउने बिरामीको सङ्ख्या उल्लेख्य रूपमा बढेको छ ।
दैनिक रूपमा उपचारका लागि आउने बिरामीमध्ये धेरैजसोमा आँखा पोल्ने, रुघाखोकी लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, दम बढ्ने र छाती दुख्ने जस्ता समस्या देखिने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । चिसो मौसम घट्दै क्रमशः गर्मी बढ्न थालेपछि मौसम परिवर्तनका कारण एलर्जी, घाँटी दुख्ने, रुघाखोकी र ज्वरोका बिरामी बढ्दै गएका छन् ।
वातावरणमा धुलो र धुवाँको मात्रा बढी हुँदा विशेष गरी बालबालिका र वृद्धवृद्धामा असर बढी देखिएको छ । बालबालिकामा कफ जम्ने, नाकबाट सिँगान बग्ने, खोकी लाग्ने र ज्वरो आउने समस्या सामान्य रूपमा देखिन थालेको चिकित्सकहरूको भनाइ छ ।
स्थानीयवासीका अनुसार गाउँ बस्तीमा अधिकांश व्यक्तिहरू रुघाखोकी र ज्वरोबाट प्रभावित भएका छन् । साना बालबालिकादेखि वृद्धवृद्धासम्म मौसम परिवर्तनजन्य संक्रमणको जोखिममा परेका छन् । चिकित्सकहरूले धुलो, धुवाँ र प्रदूषणबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका छन् ।
रुघाखोकी वा ज्वरो जस्ता लक्षणलाई सामान्य ठानेर जथाभावी औषधि सेवन नगर्न र स्वास्थ्य संस्थामा परीक्षण गराएर मात्रै उपचार सुरु गर्न सुझाव दिइएको छ । साथै, सम्भव भएसम्म मास्क प्रयोग गर्ने, धुलोयुक्त स्थानबाट टाढा रहने र बालबालिकालाई विशेष सतर्कता अपनाउने सल्लाह दिइएको छ ।




