सप्तरी । सप्तरीमा बालिकालाई अपहरण गरी फिरौती माग्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपरणमा परेकी खड्क नगरपालिका ८ बिसनपुर निवासी ७ वर्षीय नेहा खातुनको सकुशल उद्धार गरी फिरौती माग्ने सोही नगरपालिका ९ लालपट्टी टोलका ३० वर्षीय ईम्तियाज अहमदलाई प्रहरीलाई नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय कल्याणपुर सप्तरीबाट प्रहरी निरीक्षक संजिव बोगटी प्रहरी चौकी बिसनपुरबाट प्रहरी सहायक निरीक्षक हरेन्द्रप्रसाद यादवको कमान्डमा खटिएको टोलीले बिहिबार साँझ रुपनी १ स्थित खाँडोबाट ईम्तियाज अहमदलाई नियन्त्रणमा लिई नेहालाई सकुशल उद्धार गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतम कुमार केसीका अनुसार मंगलबार साँझ घरबाट हराएकी नेहाको खोजीका लागि उनको परिवारजनले प्रहरीलाई खबर गरेपछि घटना बारे प्रहरीले अनुसन्धान सुरु गरेको थियो ।
प्रहरी उपरीक्षक केसीका अनुसार अपहरण गर्ने ईम्तियाजले बिहिबार बालिकाको बुवा इमरान खानलाई फोन गरी फिरौती लिएर रुपनी गाउँपालिका १ खाँडो खोला बोलाएको थियो ।
नियन्त्रणमा लिइएको ईम्तियाज अहमदलाई इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




