रौतहट । रौतहटको गौर नगरपालिका ६ सबगढामा दुई समूहबीच झडप हुँदा १५ जना घाइते भएका छन् । स्थानीय हिन्दु समुदाय बाजा बजाउँदै जन्ती गएको विषयमा मुस्लिम समुदायले विरोध गरेपछि विवाद सुरु भएको थियो ।
बिहिबार राति नै एक चरणको झडप भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिएर दुवै समूहलाई तितर बितर पारेपनि शुक्रबार बिहानैबाट फेरि झडप सुरु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णु प्रदीप बस्यालले बताए ।
बौधिमाई नगरपालिका ९ सरमुजवाबाट सबगढामा आएको जन्तिले बाजा बजाएको विषयमा विवाद सुरु भएको थियो । राति दुवै समूहले ढुंगा हानाहान गरेका थिए । बिहान पनि त्यही विषयमा दुवै तर्फका भेला भएर विवाद गरेका थिए ।
दुई समुदायको झडपलाई नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर र ४० सेलभन्दा बढि अश्रुग्यास प्रहार गरेको डीएसपी बस्यालले जानकारी दिए । त्यस क्रममा दुई जना प्रहरी पनि घाइते भएका छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
विवाद सुल्झाउन अहिले दुवै पक्षलाई राखेर जिल्ला प्रशासन कार्यालयमा वार्ता भइरहेको छ । प्रशासनले संयमता अपनाउँदै सामाजिक सद्भाव कायम राख्न अपिल पनि गरेको छ ।




