धनगढी । धनगढी–डडेल्धुरा (भीमदत्त) राजमार्ग अन्तर्गत कैलाली अत्तरियास्थित वनदेवी सडक खण्डमा शुक्रबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँएर घाइते भएका तीन जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेती अत्तरियाले मोटरसाइकल आपसमा ठोक्किँएर भएको दुर्घटनामा घाइते भएका तीन जनालाई उपचारका लागि धनगढीतर्फ लैजाँदै गर्दा मृत्यु भएको जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले मृत्यु हुनेमा सुप प्र ०१-०१०३१८७ नम्बरको मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका २ का २२ वर्षीय हरिश ओली रहेको बताए ।
सोही मोटरसाइकलको पछाडि बस्ने गोदावरी नगरपालिका ६ लालपुरका २३ वर्षीय जीवन पाठक गम्भीर घाइते भएका र उनको उपचार जारी रहेको छ ।
यस्तै, सुप प्र ०१-००९ प ७७८१ नम्बरको मोटरसाइकलका चालक गोदावरी नगरपालिका १ का अन्दाजी २६ वर्षीय योगेन्द्र शाह र पछाडि बस्ने अन्दाजी २३ वर्षीय हरिश पार्कीको मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक चन्दले भने, “प्रतिघन्टा १०० किलोमिटरभन्दा बढीको गतिमा मोटरसाइकल चलाइएको घटनास्थलको प्रकृतिले देखिएको छ, पाङ्ग्रासहितका पाटपुर्जा उछिट्टिएका छन् । योगेन्द्र शाह यसअघि पनि दुई पटक मोटरसाइकल दुर्घटनामा परी घाइते भएका थिए ।”
मृतक ओली गोदावरीमा विवाहमा सहभागी भएर धनगढीतर्फ फर्किदै गरेको अवस्थामा दुर्घटना भएको प्रहरीले जनाएको छ ।






