धनुषा । प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा आचारसंहिता विपरीत टाँसिएका करिव २० हजार प्रचार सामाग्री हटाइएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम नगर क्षेत्रभित्र विभिन्न उम्मेदवारले टाँसेका पर्चा, पम्पलेट, ब्यानर र पोस्टर हटाएको जनाएको छ । प्रशासनका अनुसार सार्वजनिक स्थल, विद्युतका पोल, सरकारी भवन तथा सडक छेउमा टाँसिएका सामाग्री हटाइएको हो ।
निर्वाचन आचारसंहिता कार्यान्वयनका लागि प्रशासनले उम्मेदवार र राजनीतिक दललाई एक दिनको समय दिएर नियम विपरीतका सामाग्री आफैं हटाउन निर्देशन दिएको थियो । तोकिएको समयभित्र सामाग्री नहटाइएपछि प्रशासनले करिव २० हजार प्रचार सामाग्री हटाएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलले बताए ।
जथाभावी टाँसिएका प्रचार सामाग्रीले सहरको स्वरूपमा असर परेको र आचारसंहिता उल्लङ्घन भएकाले हटाइएको प्रशासनले जनाएको छ । अब फेरि यस्ता सामाग्री टाँसिए कानुनी कारवाही गरिने प्रमुख जिल्ला अधिकारी लुइँटेलले बताए ।
मुख्य बजार क्षेत्र, चोक, सार्वजनिक भित्ताहरू र सरकारी संरचनामा बढी मात्रामा यस्ता सामाग्री टाँसिएको पाइएको छ । नियम विपरीत सामाग्री टाँसिए हटाइने र सम्बन्धित उम्मेदवार तथा दलमाथि आवश्यक कारवाही गरिने प्रशासनले जनाएको छ ।




