सर्लाही । बलरा नगरपालिकाका पूर्वमेयर अभयकुमार सिंह नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । पछिल्लो समय लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका नेता समेत रहेका सिंहलाई गएराति कांग्रेस सभापति गगनकुमार थापाले पार्टी प्रवेश गराएका हुन् ।
सिंह २०७४ सालको स्थानीय तह निर्वाचनमा तत्कालीन राष्ट्रिय जनता पार्टी राजपाबाट बलरा नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा भने सिंह राजपाको फुटपछि लोसपाबाट मेयरका प्रत्याशी थिए ।
तर उनी नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका रामाशंकर कुशवाहासँग पराजित भए । गएराति सिंहकै घरमा कांग्रेस सभापति थापासहितका नेताहरू पुगेर पार्टी प्रवेश गराएका हुन् ।
सिंहसहित बलरा नगरपालिकाका पूर्व वडाध्यक्ष सुशील झा लगायतका नेता कार्यकर्ताहरू नेपाली कांग्रेस प्रवेश गरेको बताइएको छ । यसअघि सर्लाही ४ नम्बर निर्वाचन क्षेत्र निवासी लोसपाका नेताहरू संविधान सभा सदस्य केदारनन्दन चौधरी, मनिष मिश्र लगायत नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।




