रौतहट । रौतहटको गरुडा स्थित इलाका प्रहरी कार्यालय अगाडि निर्वाचन ड्युटीमा खटिएका प्रहरीहरूले शुक्रबार आकस्मिक रूपमा विरोध प्रदर्शन गरेका छन् । बिना पूर्वसूचना ६ हजार १ सय ७० रुपैयाँ बराबरको चेक आफूहरूबाट संकलन गरिएको भन्दै उनीहरूले कार्यालयको कार्यशैली प्रति असन्तुष्टि जनाएका हुन् ।
प्रदर्शनमा सहभागी एक निर्वाचन प्रहरीका अनुसार चेक संकलन बारे न त आधिकारिक जानकारी दिइयो, न त कुनै लिखित सूचना वा निर्णयको प्रतिलिपि उपलब्ध गराइयो । “हामीलाई कारण र प्रक्रिया केही स्पष्ट पारिएन, सीधै चेक मागियो,” उनले आक्रोश व्यक्त गरे ।
स्थिति केही समय तनावग्रस्त बनेपछि प्रहरी निरीक्षक रोहित शर्मा प्रदर्शनस्थलमै पुगेका थिए । उनले सहभागीहरूलाई संयमता अपनाउन आग्रह गर्दै विषयलाई आन्तरिक रूपमा छानबिन गरी समाधान गरिने आश्वासन दिएका छन् । त्यसपछि अवस्था क्रमश: सामान्यतर्फ फर्किएको बताइएको छ ।
घटनाले निर्वाचन ड्युटीमा खटिएका सुरक्षाकर्मीहरूको मनोबलमा असर परेको स्रोतको दाबी छ । पारदर्शिता र प्रक्रियागत स्पष्टताको अभावले असन्तोष बढाएको भन्दै सम्बन्धित निकायले स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने माग उठेको छ । यस विषयमा औपचारिक धारणा सार्वजनिक हुन बाँकी रहेको छ ।




