रौतहट । रौतहटको गौर नगरपालिका–सबगढामा दुई समुदायबीच उत्पन्न तनाव पुन: भड्काउने प्रयास भएको आरोपमा जिल्ला प्रशासन कार्यालयले जनमत पार्टीका जिल्ला इन्चार्ज शेख जमशैदसहित २० जनालाई नियन्त्रणमा लिएको छ । निर्वाचनको संवेदनशील समयमा शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि भएको आशंकापछि प्रशासनले कडा कदम चालेको हो ।
प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार दिउँसो जमशैदलाई नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय गौरमा उपस्थित गराएको हो । हाल उनीसँग आवश्यक सोधपुछ भइरहेको प्रशासनले जनाएको छ ।
अडियो क्लिपपछि स्थिति फेरि तनावग्रस्त
बिहिबार राति भएको घटनापछि शुक्रबार बिहानदेखि दिउँसोसम्म उपद्रवको अवस्था देखिएको थियो । दुवै समुदायबीच सहमति भएपछि शुक्रबार अपराह्न स्थिति सामान्य बन्दै गएको थियो ।
तर शनिबार बिहानैदेखि योजनाबद्ध रूपमा तनाव बढाउने आशयका अडियो क्लिप सार्वजनिक भएपछि परिस्थिति फेरि अस्थिर बनेको स्रोतहरूको दाबी छ । त्यसपछि प्रशासनले कर्फ्यु आदेश जारी गर्दै अवस्था नियन्त्रणमा लिएको थियो ।
सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार जमशैदको घटनामा कतिको संलग्नता छ भन्ने विषयमा उपलब्ध प्रमाणका आधारमा सूक्ष्म अनुसन्धान भइरहेको छ । स्थानीय बासिन्दा तथा सुरक्षा निकायबाट प्राप्त सूचनाका आधारमा उनीसँग सोधपुछ अघि बढाइएको बताइएको छ ।
विगतका विवाद र आरोप
सबगढा गाउँका पूर्व वडाध्यक्ष समेत रहेका जमशैद यसअघि पनि विभिन्न विवादमा तानिएका थिए । गत वर्ष होलीका बेला भएको साम्प्रदायिक तनावमा पनि उनको नाम जोडिएको थियो । त्यसबेला सहमति र सद्भाव कायम गर्ने प्रयास गरिएपनि अवस्था दीर्घकालीन रूपमा सुधार हुन नसकेको स्थानीयको भनाइ छ ।
सामाजिक सञ्जालमा हतियार झुण्ड्याएको तस्बिर सार्वजनिक भएपछि उनीमाथि आलोचना भएको प्रसंगसमेत स्मरण गरिएको छ । यद्यपि ती घटनामा औपचारिक कारबाही नभएको बताइन्छ ।
स्थानीय केही स्रोतहरूका अनुसार उच्च सुरक्षा अधिकारीहरूसँग निकट सम्बन्ध रहेको धारणा समाजमा फैलिएको थियो, जसले उनको मनोबल बढाएको आकलन गरिन्छ । यस्ता दाबीहरू बारे भने आधिकारिक पुष्टि भइसकेको छैन ।
प्रशासनको सन्देश
जिल्ला प्रशासन कार्यालयले निर्वाचनको समयमा कुनै पनि प्रकारको भड्काउ गतिविधि सहन नहुने स्पष्ट पारेको छ । “धार्मिक सद्भाव र सार्वजनिक शान्ति भंग गर्ने जोसुकैलाई कानुनी दायरामा ल्याइनेछ,” प्रशासनले जनाएको छ ।
हाल सबगढामा सुरक्षा सतर्कता बढाइएको छ । दुवै समुदायका अगुवासँग समन्वय गरेर स्थिति सामान्य राख्ने प्रयास जारी रहेको प्रशासनले जनाएको छ । अनुसन्धानपछि घटनाको वास्तविकता सार्वजनिक गरिने बताइएको छ ।




