सप्तरी । सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल अगाडि आइतबार बिहानदेखि तनावग्रस्त अवस्था देखिएको छ । सुत्केरी महिलाको मृत्यु चिकित्सकको लापरबाहीका कारण भएको आरोप लगाउँदै पीडित परिवार तथा आफन्तले प्रदर्शन गरेका हुन् ।
अस्पताल परिसर अगाडि टायर बालेर विरोध जनाइएको छ भने केहीबेर अस्पताल प्रशासनतर्फ ढुंगामुढा समेत भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग राखेका छन् ।
शल्यक्रियापछि मृत्यु
जिल्लाको विष्णुपुर गाउँपालिकाका सन्तोष सदाकी २५ वर्षीया श्रीमती सुजानदेवी सदालाई शुक्रबार माइती घर छिन्नमस्ता गाउँपालिका ५ लोखरमबाट सुत्केरी गराउन राजविराजस्थित अस्पताल ल्याइएको थियो ।
शनिबार शल्यक्रिया मार्फत शिशुको जन्म गराइएपछि उनलाई पोस्ट–अपरेटिभ वार्डमा सारिएको थियो । परिवारका अनुसार शल्यक्रियापछि अवस्था सामान्य रहेको बताइएको थियो । तर, आइतबार बिहान करिव ३ बजे बान्ता भएपछि उनको अवस्था अचानक बिग्रिएको र केहीबेरमै मृत्यु भएको हो ।
परिवारको आरोप
मृतकका ससुरा पुलकित सदाले बान्ता हुँदा वार्डमा चिकित्सक नभेटिएको आरोप लगाएका छन् । “बुहारीलाई बान्ता हुँदा तत्काल उपचार भएन । चिकित्सकको लापरबाहीले मृत्यु भयो,” उनले भने, “घटनाको छानबिन गरी दोषीलाई कारबाही हुनुपर्छ ।” परिवारले शल्यक्रियाकै क्रममा समेत पर्याप्त सतर्कता नअपनाइएको दाबी गर्दै जिम्मेवार पक्षमाथि कारबाहीको माग दोहोर्याएका छन् ।
अस्पतालको प्रतिक्रिया
अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. दिलीप साहले भने शल्यक्रियामा कुनै त्रुटि नभएको दाबी गरेका छन् । उनका अनुसार शल्यक्रियापछि आमा र शिशु दुवैको अवस्था सामान्य नै थियो ।
“बान्ता हुँदा सास नलीमा पुगेर जटिलता उत्पन्न भएको देखिन्छ,” उनले भने । साथै मृतक टिबी रोगबाट पनि पीडित रहेको जानकारी दिँदै शल्यक्रियामा लापरबाही नभएको स्पष्ट पारे । बान्ताका बेला चिकित्सक वार्डमा नभेटिएको विषयमा उनले वार्डमा नर्सहरू ड्युटीमा रहेको बताएका छन् ।
छानबिनको माग र तनाव
घटनापछि अस्पताल परिसरमा सुरक्षा सतर्कता बढाइएको छ । प्रदर्शन जारी रहेकाले अवस्था तनावपूर्ण बनेको छ । स्थानीय प्रशासनले स्थिति नियन्त्रणमा राख्न पहल गरिरहेको जनाएको छ । घटनाको औपचारिक छानबिन र प्रतिवेदन सार्वजनिक भएपछि मात्रै मृत्युको वास्तविक कारण स्पष्ट हुने देखिन्छ ।




