रौतहट । जिल्ला प्रशासन कार्यालय गौरमा आइतबार बिहान बसेको सर्वपक्षीय बैठकले जिल्लामा उत्पन्न तनावलाई साम्य पार्न संयमित रहन सबै पक्षलाई आग्रह गरेको छ । बैठकले सोमबार बिहान सद्भाव र्याली निकाल्ने निर्णय गर्दै सामाजिक सद्भाव कायम राख्न पाँच बुँदे सहमति गरेको जनाएको छ ।
शुक्रबार गौर नगरपालिका ६ स्थित सबगढा गाउँमा बिहेको जन्तीमा चर्को आवाजमा डिजे बजाएको विषयलाई लिएर दुई पक्षबीच झडप भएको थियो । त्यसपछि शनिबार दिनभर गौर क्षेत्र तनावग्रस्त बनेको थियो । परिस्थितिलाई नियन्त्रणमा लिन स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार शान्तिपूर्ण वातावरण कायम राख्न राजनीतिक दल, स्थानीय तह, नागरिक समाज र सरोकारवाला सबै पक्षले सार्वजनिक अपिल गर्ने सहमति भएको छ ।
सामाजिक सञ्जालमार्फत पुराना भिडियो तथा उत्तेजक सामाग्री प्रसारण गरी वातावरण बिगार्ने प्रयास गर्नेहरूलाई कारबाही गर्न सुरक्षा निकायलाई सहयोग गर्ने निर्णय पनि बैठकले गरेको छ ।
उनका अनुसार सामाजिक सद्भाव सुदृढ गर्न नागरिक समाजका अगुवाहरूको नेतृत्वमा सोमबार बिहान सद्भाव र्याली निकालिनेछ । सर्वपक्षीय बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नगरप्रमुखहरू तथा नागरिक समाजका अगुवाहरूको सहभागिता रहेको थियो ।
प्रशासनका अनुसार आइतबार दिउँसोदेखि कर्फ्यु लागू भएपछि थप झडपका घटना भएका छैनन् । कर्फ्यु मंगलबार बिहानसम्म कायम रहने जनाइएको छ । झडपका क्रममा करिब आधा दर्जन सवारी साधनमा आगजनी र तोडफोड भएको थियो ।
कर्फ्युका कारण गौर बजार पूर्ण रूपमा सुनसान छ भने बजार तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रशासनले शान्ति र सद्भाव कायम राख्न सबैलाई संयमता अपनाउन तथा अफवाहमा नलाग्न आग्रह गरेको छ ।





