नवलपरासी पूर्व । नवलपरासी पूर्वको गैँडाकोटमा एक युवतीको शव फेला परेको छ । गैँडाकोट नगरपालिका २ शान्तिनगरमा एक युवतीको शव बाहिरबाट ताला लगाएको बन्द कोठामा फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी उपरीक्षक युवराज खड्काका अनुसार गुल्मी मुसिकोट गाउँपालिका ९ घर भई गैँडाकोट २ मा डेरा गरी बस्दै आएकी करिब २४ वर्षीया बबिता सापकोटा आफ्नै कोठाभित्र चोट पटक लागेको अवस्था मृत फेला परेकी हुन् ।
बबितासँग सम्पर्क हुन नसकेको भन्दै उनका दाजुले घरबेटीलाई जानकारी गराएपछि इलाका प्रहरी कार्यालय गैँडाकोटमा खबर गरिएको थियो । स्थानीय जनप्रतिनिधि, घरबेटी र आफन्तको ताल्चा खोलेर हेर्दा सापकोटा कोठाभित्र खाटमाथि सिरकले छोपिएको अवस्थामा मृत फेला परेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए ।
‘प्रारम्भिक अनुसन्धानका क्रममा टाउको, घाँटी, दाहिने हातको नाडीमा धारिलो हतियारले काटेको चोट र अनुहारमा निलडाम रहेका छ’, प्रहरी उपरीक्षक खड्काले भने, ‘घटनाको थप अनुसन्धानका लागि प्रदेशस्तरीय अनुसन्धान टोली तथा कुकुरसहितको विशेष टोली समेत परिचालन गरेका छौँ ।’
उनको तीन वर्षअघि विवाह भएको र एक वर्षअघि सम्बन्धविच्छेद भएको आफन्तले बताएका छन् । उनी हाल डेरामा एक्लै बस्दै आएकी थिइन् । उनी १० फागुनमा गुल्मीबाट गैँडाकोटस्थित डेरामा फर्किएपछि माइती पक्षसँग सम्पर्कमा नआएको खुलेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए । घटना बारे अन्य विवरण अनुसन्धानपछि खुल्ने प्रहरीले जनाएको छ ।






