सप्तरी । सप्तरीको राजविराज नगरपालिकामा मंगलबार एक युवाको पोखरीमा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर ७ घर भएका १८ वर्षीय अङ्गदकुमार मेहतरको पोखरीमा डुबेर मृत्यु भएको हो ।
परिवारजनका अनुसार दुई दिन अघि आइतबार उनी भारतको विहार राज्य अन्तर्गत पर्ने भिमनगर स्थित दिदी कहाँ जान्छु भन्दै घरबाट निस्किएका थिए । मंगलबार बिहान ६ बजेतिर सोही वडामा रहेको तुरन्ती पोखरीमा उनको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षक प्रमोद साहको नेतृत्वमा पुगेको टोलीले गोताखोरको मद्दतले शव बाहिर निकालेपछि मृतकका आफन्तले सनाखत गरेका हुन् ।
मृतकका शव पोस्टमार्टमका लागि गजेन्द्रनाराण सिंह अस्पताल राजविराज पठाइएको र घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिए । प्रहरीका अनुसार मृतक मेहतर छारे रोगबाट पीडित रहेको खुलेको छ ।




