काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका ११ स्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत अमृत भेटुवाल घुस लिएको आरोपमा पक्राउ परेका छन् ।
सेवाग्राहीसँग सवारी सरुवा सहमति गरिदिने प्रयोजनका लागि रकम माग्ने गरेको उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
अख्तियारका अनुसार बिचौलिया तथा लेखापढी व्यवसायी खगेन्द्र पौडेलमार्फत सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा दुवै जनालाई पक्राउ गरिएको हो ।
उनीहरूलाई यातायात व्यवस्था कार्यालय परिसरबाट तीन थान मोबाइल सेटसहित नियन्त्रणमा लिइएको जनाएको छ । आयोगले घटना बारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
अनुसन्धान सम्पन्न भएपछि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाइएको छ ।






